अनेक जालझेल, अनैतिक र असंवैधानिक हर्कतहरुको बलमा तीन वर्ष टिकेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको अन्ततः दिनगन्ती सुरु भएको छ ।
आफ्नो सत्ता टिकाउन प्रतिनिधिसभा विघटनजस्तो घोर असंवैधानिक कदम चालेका ओली आफ्नो सत्ता केही महिना लम्ब्याउन सफल भए पनि अब भने सरकारबाट उनको बर्हिगमनको मार्ग प्रशस्त हुँदै गएको छ ।
यसबीचमा ओलीले आफ्नो सत्ता टिकाउन जनता समाजवादी पार्टीको साथ खोजे पनि उक्त दलभित्र ओलीलाई समर्थन दिन नहुने मत बलियो बन्दै गएको र आफ्नै दल एमाले पनि फुटको संघारमा पुगेपछि सरकारबाट ओलीको बर्हिगमन निश्चित प्रायः बनेको हो ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएलगत्तै ओलीले प्रतिनिधिसभा विश्वासको मत हासिल गर्नुपर्ने हुन्छ । त्यसका लागि उनलाई १३७ सांसद्को समर्थन आवश्यक छ । यसमध्ये १ सय २० सांसद् एमालेका छन् भने बाँकी नपुग १७ सांसद्को संख्या भने उनले अन्य दलबाट पुर्याउनुपर्ने हुन्छ । यसैका लागि उनी यतिबेला जनता समाजवादी पार्टीको शरणमा पुगेका छन् ।
जनता समाजवादी दलको समर्थन पाउन उनको लागि सहज देखिँदैन । यदि जनता समाजवादी पार्टीको समर्थन पाइहाले पनि संसद्मा नेकपा एमालेभित्रका माधव नेपाल र झलनाथ खनाल पक्षका सांसद्हरु अनुपस्थित भएमा उनको सरकार स्वतः ढल्छ ।
नेपाल–खनालसहितका नेताहरुको पद खोसेपछि एमाले आफैं फुटका संघारमा पुगेकाले सत्ताबाट ओलीको बर्हिगमन निश्चित जस्तै भएको छ । यसैबीच, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा एमाले इतरका दलहरु समेटेर सरकार निर्माण गर्ने तयारी सुरु गरेको छ ।
नयाँ सरकारको नेतृत्व सभापति शेरबहादुर देउवाले गर्नुपर्नेमा कांग्रेस एकमत देखिएको छ । शुक्रबार बसेको कांग्रेसका पदाधिकारीहरुको बैठकले सभापति देउवालाई आफ्नो नेतृत्वमा सरकार बनाउन अग्रसर माओवादी केन्द्र र जसपाका नेताहरुसित वार्ता अघि बढाएको छ ।
उता ओलीले पनि जसपालाई मनाउन सबै जोड लगाएका छन् । जसपाका तीन अध्यक्षमध्ये महन्थ ठाकुर प्रधानमन्त्रीसँग मिलेर जान सकारात्मक देखिए पनि अन्य दुई अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव एमालेसँग मिल्न नहुने पक्षमा दृढ देखिएका छन् ।
यसैबीच शनिबार एमालेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले पार्टीभित्र समानान्तर कमिटी गठन गर्ने र राष्ट्रिय भेला बोलाउने निर्णय गरेपछि जसपाका ठाकुर पनि ओलीलाई आफूहरुले समर्थन गरे पनि जोगाउन नसकिने भन्दै ओली कांग्रेस र माओवादी केन्द्रसँगै गठबन्धन गर्नुपर्ने निष्कर्षमा पुगेको स्रोतले बतायो ।
अध्यक्ष ठाकुरले वरिष्ठ नेता राजेन्द्र महतोसँग मिलेर एमालेसँग सत्ता साझेदारीका लागि प्रयास सुरु गरेको थाहा पाएपछि भट्टराई र यादव असन्तुष्ट बन्दै आएका छन् । सत्ता साझेदारीका लागि ठाकुरले पूर्व समाजवादी र राजपाकै केही नेतालाई समेत जानकारी नदिई कार्यदल नै बनाए । य
स्तै यो बीचमा ठाकुरले प्रधानमन्त्री ओलीसँग भेटेर सत्ता साझेदारीका लागि आफ्ना केही सर्तसमेत राखिसकेका छन् । जसपाको साथ पाए बहुमत पुग्ने भएकाले प्रधानमन्त्री ओलीले पनि ठाकुरलाई फकाउन जोड दिँदै आएका हुन् ।
सकेसम्म सिंगो जसपालाई मनाउने सम्भव नभए पार्टी नै फुटाएर आफूलाई पुग्ने सांसद ल्याउने योजनामा प्रधानमन्त्री रहेको बालुवाटार स्रोत बताउँछ । तर, माधव–झलनाथ आफ्नो साथमा नहुँदा प्रधानमन्त्रीको उक्ता षडयन्त्रले पनि काम नगर्ने चाल पाएपछि ओलीले महन्थलाई घुमाउरो ढंगले प्रधानमन्त्री बन्न आग्रह गरेको बुझिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने कि नजाने, ओलीइतरको गठबन्धन निर्माणमा लाग्ने कि नलाग्ने भन्ने विषयमा स्पष्ट दुई धार जसपामा देखा पर्दै आएको छ ।
जसपाभित्र महन्थ ठाकुरले नेतृत्व गरेको समूह प्रधानमन्त्री ओली नेतृत्वकै सरकारमा सहभागी हुने पक्षमा लचिलो देखिँदै आएको छ । यो जसपा बन्नुअघिको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) को समूह हो ।
ठाकुरलाई राजेन्द्र महतो, अनिल झालगायतका नेताहरुले यसका निम्ति सघाएको बताइन्छ । पछिल्लो समय जसपामा ओली सरकारमा जानुपर्छ भन्ने पक्ष बलियो बन्दै जानुको कारण पनि यही हो । तर, ओली सरकारमा जान नहुने पक्षमा उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईलगायत नेता देखिएका छन् । उनीहरु जसपा बन्नुअघिको समाजवादी पार्टीको प्रतिनिधित्व गर्छन् ।
जसपाले उठाएका मागमा प्रधानमन्त्री ओली अनुदार रहेकाले ओली सरकारमा जाने विषयमा छलफल नै गर्न नहुने पक्षमा उनीहरु छन् । ओली सरकारले जसपाले उठाएको माग पूरा गर्ने देखिएकाले तत्काल सरकारमा जाँदा आउँदो निर्वाचनमा प्रभाव पर्ने र चुनाव जित्न कठिन हुने विश्लेषण उनीहरुको छ ।
सरकारले माग सम्बोधन नगर्ने, सरकारमा सहभागी मात्रै हुने स्थिति आए आफूहरु थप बदनाम हुने उनीहरुको तर्क छ । सरकारमा जाने वा नजाने विषयमा जसपाभित्र एकमत हुन नसकेपछि एमाले, कांग्रेस र माओवादी तीन वटै पार्टीसँग छलफल गर्ने निर्णय बिहीबार दिउँसो बसेको पदाधिकारी बैठकले गरेको थियो ।
बिहीबार बसेको पाँच शीर्ष नेताको बैठकले तीन दलसँग संवाद गर्ने र ठोस निर्णयका लागि चैत ५ गते कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय गरेको छ । पाँच शिर्ष नेतालाई पार्टीको निर्णय गर्ने अधिकार नभएकाले पूर्ण अधिकारसहितको कार्यकारिणी समिति बैठक बोलाइएको हो ।
सरकारमा जाने विषयमा जसपाका नेताहरुले बिहीबारदेखि नै भेटघाट र छलफल सुरु गरेका छन् । उनीहरुले बिहीबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरे ।
त्यसैगरी शुक्रबार नेपाली कांग्रेससँग छलफल गरे भने हिजो शनिबार माओवादी केन्द्रसँग छलफल गरेका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रसँगको छलफल सकारात्मक रहेको अध्यक्ष महन्थ ठाकुरले प्रतिक्रिया दिएका छन्, देशान्तरमा उल्लेख छ । प्रधानमन्त्री ओलीनिकट एमालेका नेताहरुले छलफल सकारात्मक रहेको बताएका छन् । उनले सबैसँग आफ्नो मुद्दा प्रष्टसँग राखेको जनाएको छ ।




















प्रतिक्रिया