नेकपा माओवादी केन्द्रले एमाले ओली समूहमा लागेका नेताहरुलाई पार्टीबाट हटाउने भएको छ ।
शनिबारकोस्थायी समिति बैठकले २४ घण्टाभित्र स्पष्टीकरण दिन र पार्टीमा फर्कन अपिल गरेको थियो । तर, सो समयमा स्पष्टीकरण नआएकाले आइतबार बसेको केन्द्रीय समिति बैठकले ओली समूहमा लागेका सबैलाई कारबाहीको निर्णय गरेको हो । माओवादी केन्द्रले आइतबार संघीय संसद सचिवालय, प्रदेश संसद सचिवालय र निर्वाचन आयोगलाई पत्राचार गर्दै रामबहादुर थापा बादलसहित १३ नेताले दल त्याग गरेको जानकारी गराएको छ ।
१३ जनामा संघीय सरकारका मन्त्री, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य छन् । पत्रमा सम्बन्धित सांसदहरुले दल त्याग गरेकाले उनीहरुलाई सांसद पदबाट मुक्त गर्न सिफारिस गरिएको छ ।
सम्बन्धित दलले दल त्याग गरेको जानकारी गराएसँगै संसद सचिवालयले दल त्यागको सूचना सार्वजनिक गर्छ । त्यसपछि सांसदहरुको पद स्वतः खारेज हुन्छ । पत्रमा दल त्याग गर्नेहरुमा राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल र चन्द्रबहादुर खड्का छन् ।
प्रतिनिधिसभा सदस्यहरु टोपवहादुर रायमाझी (अर्घाखाँची), प्रभु साह (रौतहट) , लेखराज भट्ट, (कैलाली), गौरीशंकर चौधरी (कैलाली), छन् । दल त्याग गर्ने प्रदेशसभा सदस्यहरुमा टंक आङबुहाङ (ताप्लेजुङ), ज्वालाकुमारी साह (बारा), दधिराम न्यौपाने (रुपन्देही) दिनेश पन्थी (गुल्मी), ठम्मर विष्ट (सुर्खेत), धर्मराज रेग्मी (दैलेख) र झपट बोहरा (अछाम) छन् ।
राजनीतिक दल सम्बन्धी ऐनको दफा ३१ ले प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा सदस्य वा स्थानीय तहका प्रतिनिधिले आफू निर्वाचित भएको कार्यकाल अवधिभित्र दल त्याग गरेको अवस्थामा स्वतः पद जाने व्यवस्था गरेको छ ।
‘कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको संघीय संसद्को सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न सक्ने छैन, राजनीतिक दलसम्बन्धी दफा ३१ को उपदफा ९१० मा भनिएको छ ।
एनले दल त्याग गर्नेले नयाँ दलको मान्यता पाउन संसदीय दल र केन्द्रीय समिति दुवैमा अनिवार्य ४० प्रतिशत संख्या पुर्याउनुपर्ने व्यवस्था गरेको छ । ‘कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिनेछ’, ऐनमा भनिएको छ । श्रोतका अनुसार संसद सचिवालयले उनीहरु संसदको सदस्य नरहेको निर्णय गरिसकेको छ । औपचारिक रुपमा भने सोमबार जानकारी दिने तयारी छ ।




















प्रतिक्रिया