पूर्वमाओवादी मन्त्रीहरुले नेकपा माओवादी केन्द्रले काटेको चिठी बुझेका छन् ।
गृहमन्त्री रामबहादुर थापा बादलसहित ६ मन्त्रीले पार्टीको पत्र बुझेका हुन् । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले मन्त्री बादल आफैंले पत्र बुझेको काठमाण्डुटुडेलाई जानकारी दिए । ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, खानेपानीमन्त्री मणिचन्द्र थापा, सहरी विकासमन्त्री प्रभु साह र श्रम तथा रोजगारमन्त्री गौरी शंकर चौधरीले भने आफ्नो सचिवालयमार्फत पत्र बुझेका छन् ।
युवा तथा खेलकुदमन्त्री दावा तामाङले भने पत्र बुझ्न इन्कार गरेकाले हुलाकमार्फत पठाइएको ढकालले बताए । माओवादी केन्द्रले सरकारबाट फिर्ता आउन आग्रह गर्दै मन्त्रीहरुलाई पत्र काटेको हो । २९ फागुनमा बसेको स्थायी समिति बैठकले पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
आइतबारको केन्द्रीय समिति बैठकले स्थायी समितिको निर्णय अनुमोदन गरेपछि पत्र काटिएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएको छ । एमालेको प्रधानमन्त्री केपी ओली समूहको बैठकले बादलसहित २३ नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेपछि माओवादी केन्द्रले त्यसबारे चिठी लेखेको हो ।




















प्रतिक्रिया