नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटको प्रस्ताव गरेका छन् ।सोमबार बिहान ओलीले दाहाललाई फोन गरेर भेटको प्रस्ताव गरेको माओवादी केन्द्रका एक नेताले बताए ।
उहाँले भेटौ कुरा गरौं भनेर प्रस्ताव गर्नुभएको छ । प्रचण्ड कमरेडले भेट्न त के भयो र भेटौंला तर अहिले म बैठकमा छु भन्नु भएछ,’ दाहालनिकट ती नेताले भने, ‘त्यसपछि उहाँ ओलीले बिहान बेलुका समय मिलाएर भेटौँ न भन्नु भएछ ।
त्यसपछि प्रचण्ड कमरेडले पार्टी अलग अलग भएपछि अब के कुरा छ र भन्नुभयो । ओलीले भने दाहालसँग आफूले केही कुरा गर्न चाहेको बताएका थिए । ‘तपाईंको कुरा तपाईसँग हुन्छ, मेरो कुरा मैसँग हुन्छ ।
मैले भनेको कुरा तपाईंले मान्नु पर्छ भन्ने पनि छैन, तपाईंले भनेका कुरा मैले मान्नु पर्छ भन्ने पनि छैन । तर म केही कुरा गर्न चाहन्छु,’ ओलीले दाहालसँग भनेका थिए । गत पुस १५ गते ओलीले दाहालपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न दाहाललाई फोन गरेका थिए । त्यसयता उनीहरुबीच सामान्य संवाद पनि भएको छैन ।
ओली हटाउ अभियानमा गौतम
तटस्थ बस्दै आएका नेकपा एमालेका प्रभावशाली नेता बामदेव गौतमले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चाको नेतृत्व लिने भएका छन् । उनले ओलीविरुद्धको मोर्चाको नेतृत्व लिने सहमति बनेको हो । आइतबार एमाले नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमको संयुक्त बैठक बसेको थियो । उनीहरु गोप्य रुपमा बसेर भावी रणनीति तयार गरेको बुझिएको छ ।
तीन नेताबीचको बैठकमा गौतमलाई ओलीविरोधी मोर्चाको संयोजक रहन प्रस्ताव भएको थियो । त्यसमा गौतम सकारात्मक रहेको बुझिएको छ ।गौतम संयोजक बनेर एमालेभित्र ओलीको पछिल्लो कदमको सामना गर्नेमा सहमति बनेको छ ।
ओलीले अध्यक्ष र महासचिवसहित सबै पदाधिकारी खारेज गर्नेलगायतको निर्णयलाई अमान्य भनिसकेको माधव नेपाल समूहले सशक्त रुपमा त्यसको सामना गर्ने रणनीति बनाएको हो ।
विश्वस्त स्रोतका अनुसार एमालेभित्रै सकेसम्म संघर्ष गर्ने नभए विकल्प समेत तयार गरेर कठोर कदम चाल्ने गरी वामदेवलाई संयोजक बनाउन लागिएको हो । ओलीविरुद्ध एकजुट भएका नेताहरुले पार्टी विभाजनसम्मको तयारी गरेको विश्वस्त स्रोतले बताएको छ ।
प्रतिक्रिया