राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी साता मित्र राष्ट्र बंगलादेशको दुई दिने औपचारिक भ्रमण गर्ने भएकी छिन । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीको भ्रमणमिति तय भएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले यही चैत्र ९ र १० गते बंगलादेशको भ्रमण गर्नेछिन । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमणमा द्धिपक्षीय हित र आपसी सम्बन्धबारे छलफल हुने बुझिएको छ ।
भ्रमणटोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित उच्च पदस्थ अधिकारीहरु सहभागी हुने बुझिएको छ । बङ्गलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बङ्गलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारीको भ्रमण हुन लागेको हो। भ्रमणको अवसरमा राष्ट्रपतिले ‘नेपाल र बङ्गलादेशको सम्बन्ध र बङ्गलबन्धुको जन्म शताब्दी’ को बारेमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
त्यस्तै राष्ट्रपति भण्डारीले आफ्ना समकक्षीसँग बङ्गभवनमा भेटवार्ता गर्ने कार्यक्रम छ। यसैगरी भ्रमणका अवसरमा सावरस्थित राष्ट्रिय शहीद स्मारक र धनमण्डीमा रहेको बङ्गलबन्धुको स्मृति सङ्ग्रहालयको अवलोकन गर्नेछिन् । नेपाली प्रतिनिधिमण्डलमा सहभागी सांस्कृतिक टोलीले ढाकामा प्रस्तुत गर्ने शताब्दी समारोह कार्यक्रमको अवलोकन पनि गर्नेछ । राष्ट्रपतिको सम्मानमा नेपाली दूतावासमा आयोजना हुने दिवा भोजमा त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी यही चैत १० गते स्वदेश फर्कने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।




















प्रतिक्रिया