Logo

प्रमुख समाचार

माधव नेपालको नयाँ घोषणाले बालकोटमा तरंग



काभ्रे । नेकपा नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी बनाएका माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना गल्ती स्विकार्दै माफी मागे नयाँ ढंगले सोच्न सकिने घोषणा गरेका छन् ।

जिल्ला पार्टी कार्यालय उद्घाटन र दसैंतिहारलगायत चाडको शुभकामना आदानप्रदान गर्न शनिबार बनेपामा आयोजित कार्यक्रममा उनले ओली सुध्रिएलान् भन्ने आशा भने नगरेको बताए ।

‘अहिले पनि केपी ओलीले माफी माग्छन् भने, गल्ती गरेको कुरा स्विकार्छन् भने, आफ्नो कुर्सी बचाउन प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको ठान्छन् भने,’ नेपालले भने, ‘पार्टीभित्र गलत तरिका अपनाएँ भन्ने मान्छन् भने र त्यसको जिम्मेवारी मेरो हो भन्ने स्विकार्छन् भने नयाँ ढंगले सोच्न सकिएला ।’ एमालेमा ओलीले दास र एसम्यान मात्रै खोजी गरेको भन्दै नेपालले आफू र समूहले साहस गरेर विद्रोह गरेको तर्क गरे ।

‘धेरैलाई लागेको थिएन संसद्मा हामी शक्तिका रूपमा उदाउनेछौं, धेरैले कानुनी मान्यता पाउने सोचेका थिएनन्,’ उनले भने, ‘अहिले प्रत्येक भाषणमा अदालत, कानुन व्यवसायीको मानमर्दन गरेको पाउनुहुन्छ, मिडिया, नागरिक समाजका मान्छेको हुर्मत लिएको पाउनुहुन्छ, निर्वाचन आयोगदेखि सभामुखविरुद्ध विषबमन गरेको देख्नुहुन्छ, यी सबै केपी ओलीको तमासा, पराजित मानसिकताको उपज मात्रै हो ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पुराना भ्रष्टाचार मुद्दाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए । ‘संसारमा जुनसुकै ठूला ओहोदाको व्यक्ति होस्, भ्रष्टाचारको छानबिन, कारबाही हुन्छ तर अघिल्लो सरकारको पालामा यति होल्डिङमाथि छानबिन भएन, झापाको चिया बगान, ओम्नी, हवाईजहाज, औषधि खरिद प्रकरणमा छानबिन भएन,’ उनले भने, ‘बरु प्रोत्साहन र ढाकछोप गर्ने काम भएको छ, यो सरकारले त्यसको एकएक छानबिन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराउँछु ।’

वाग्मती र प्रदेश–१ मा छिट्टै आफ्नो दलको नेतृत्वमा सरकार बन्ने भन्दै उनले अन्य प्रदेशमा पनि आफ्नो पार्टीले सम्मानजनक हैसियत बनाएको दाबी गरे । ललितपुरको गोदावरीमा सम्पन्न एमाले विधान महाधिवशेनलाई ‘तमासा’ को संज्ञा दिँदै उनले खसीबोका, कुखुराको भतेर मात्रै लागेको र विधानको ‘ब’ उच्चारणसमेत नभएको आरोप लगाए ।

आफूलाई पुष्पलालको उत्तराधिकारी दाबी गर्दै उनले कम्युनिस्ट पार्टीमा व्यक्तिभन्दा नीति र विचारप्रधान हुने तर्क गरे । माधव नेपालको टिप्पणी सुनेर यता एमाले अध्यक्ष केपी ओली भने फायर भएका छन् ।

प्रकाशित : २४ आश्विन २०७८, आइतबार