Logo

राजनीति

केपी ओलीले प्रचण्ड–माधव नेपाललाई हेप्दा काँग्रेस चुप लाग्नु गल्ती थियो : गगन



प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई अहंकारी बनाउनमा आफ्नो पार्टी पनि दोषी रहेको स्वीकार गरेका छन् ।

पोखरामा शुक्रबार आयोजित एक कार्यक्रममा थापाले प्रतिपक्षका रुपमा निरन्तर दबाब र खबरदारी गर्न नसक्दा ओलीमा अहंकार पलाएको बताए । प्रतिपक्ष संख्यामा सानो या ठूलो नहुने भन्दै थापाले प्रतिपक्षीसँग संसदमा प्रधानमन्त्री डराउनुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गरे ।

 ‘प्रधानमन्त्रीलाई हामीले प्रतिपक्षको ठाउँबाट निरन्तर जुन दबाब दिन सक्नुपर्ने हो, हस्तक्षेप गर्न सक्नुपर्ने हो, प्रश्न गर्न सक्नुपर्ने हो, त्यसो गरिएन’, थापाले भने, ‘प्रधानमन्त्री अहंकारी बनाउन भूमिका खेलेकामा हामी आफैं पनि समीक्षा गर्नुपर्छ ।’

उनले ओलीले प्रचण्ड र माधव नेपाललाई हेप्दा चुप लागेर बसेको भन्दै थापाले प्रचण्ड–नेपाललाई हेपेकै शैलीमा ओलीले संविधान, संसद सबैलाई हेपेको बताए । ‘प्रधानमन्त्रीले प्रचण्ड र माधव नेपाललाई हेप्नु भो । त्यो हाम्रो चिन्ताको विषय बनेन । प्रचण्ड र माधव नेपालललाई हेप्दै गर्दा देशको संविधानलाई हेप्नु भो ।

 नागरिकको जनमतलाई हेप्नु भो । संसदलाई हेप्नु भो । व्यवस्थालाई हेप्नु भो । हामीले प्रधानमन्त्रीलाई रोक्नुपर्ने त्यसैमा हो’ थापाले भने । तर, प्रचण्ड र माधव नेपालले दुई तिरबाटकाँध थापेका कारण पनि ओलीमा अहंकार र निरंकुश शैली विकास भएको थापाले बताए । थापाले प्रधानमन्त्री केपी ओलीमा क्षमता नभएकाले प्रधानमन्त्रीत्वकालमा असक्षम साबित भएको बताए

अयोग्य मान्छेले आफूलाई नै सम्पूर्ण ठान्छ’, थापाले भने, ‘केपी ओली अयोग्य र अहंकारी भएकै कारण पाएको जिम्मेवारी सहि ढंगले निर्वाह गर्न सक्नुभएन ।’ नेकपाले पाँच वर्ष सरकार चलाउने म्याण्डेट पाए पनि त्यो खण्डित भएकाले अब सरकारमा काँग्रेसको अधिकार लाग्ने थापाले दाबी गरे । थापाले ओलीको नेतृत्वमा अब मुलुक अगाडि जान नसक्ने भएकाले काँग्रेस सत्ताको नेतृत्व लिन तयार हुनुपर्नेमा जोड दिए ।

अरु पार्टीको समर्थनमा ओली अझै सत्तामा टिकिरहनु भनेको सरकार नभई ओली प्रवृत्ति टिक्नुभएको थापाको टिप्पणी थियो । ओलीले आफूलाई सिंहदरबारभित्र मात्र सीमित नगरी अदालत, अख्तियार, सेना र प्रहरी प्रमुख आफैं भएको जस्तो गरिरहेको भन्दै थापाले आपत्ति जनाए । थापाले ओलीले बिगारेको प्रणाली सही बाटोमा फर्काउन काँग्रेसको नेतृत्वमा सरकार जरुरी रहेको भन्दै माओवादी केन्द्र र जसपालाई स्पष्ट निर्णय लिन आग्रह गरे ।

प्रकाशित मिति : चैत्र ७, २०७७ शनिबार  ९ : २३ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।