Logo

प्रमुख समाचार

स्थानीय तहको निर्वाचन आगामी चैत ५ गतेभित्र गर्न आयोगको सिफारिस



निर्वाचन आयोगले स्थानीय तहको चुनाव आगामी चैत ५ गतेभित्र सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ गतेभित्र स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको हो ।

स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । २०७४ वैशाख ३१ मा चुनाव भएको ७ दिनदेखि गणना गर्दा कार्यकाल जेठ ५ गते सकिने देखिएको आयोगको भनाइ छ ।

कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानमा लेखिएपनि निर्वाचनसम्बन्धी कानुनमा म्याद सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने भन्ने भएकाले चैत ५ गते अघि नै चुनाव गर्नुपर्ने देखिएकाले सोहीअनुसार सिफारिस भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

यस्तै आयोगले स्थानीय तहको कार्यकाल धेरै बाँकी नरहेकाले रिक्त जनप्रतिनिधिहरुको पदपूर्तिका लागि अब उपनिर्वाचन गर्नु नपर्ने प्रधानमन्त्री देउवालाई जानकारी गराएको छ ।

प्रधानमन्त्री देउवाले स्थानिय तहको निर्वाचन गर्ने सवालमा सरकारले उपयुक्त निर्णय गरेर आयोगलाई जानकारी दिने आश्वासन दिएको बताइएको छ ।

यसैबीच प्रदेश र प्रतिनिधिसभाका रिक्त सांसदको विषयमा उपनिर्वाचन गर्ने कि नगर्ने भन्ने विषयमा भने आयोगले सरकारको धारणा मागेको छ । जवाफमा प्रधानमन्त्री देउवाले दलहरूसँग छलफल गरेर यसबारे निर्णय लिइने बताएका छन् ।

यस्तै आयोगले राष्ट्रियसभाको फागुनदेखि रिक्त हुने २० पदमा आगामी माघको पहिलो साता निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : कार्तिक ८, २०७८ सोमबार  ५ : ०२ बजे

357
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।