Logo

राजनीति

म चाहिँ बाँचुन्जेल लड्ने नै भएँ : प्रचण्ड



नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू बाँचुन्जेलसम्म लडिरहने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘फेरि अर्को लडाइँ लड्नुपर्ने भएको छ,’ अध्यक्ष प्रचण्डले भने–‘म चाहिँ बाँचिन्जेलसम्म लड्ने नै भएँ ।’

आदिवासी जनजाति, दलित, मधेशीलगायतमाथि ठूलो षड्यन्त्र भइरहेको बताउँदै अध्यक्ष प्रचण्डले भनेका छन्-‘तपाईँहरु पनि सोच्नुहोला । तपाईँहरुमाथि ठूलो षड्यन्त्र हुन लागेको छ । मैले अहिल्यै यी सबै भनेर अलिक शान्त बनेको वातावरणलाई फेरि भाँड्न चाहन्न । तर, षड्यन्त्र ठूलै हुन लागेको छ । सबैले सोच्नुपर्ने बेला भएको छ ।’

आफूले पूर्ण मुक्तिको अधिकार नपाएसम्म लडिरहनुपर्ने अध्यक्ष प्रचण्डको भनाइ छ । ‘हिजो पनि लडेकै हो,’ अध्यक्ष प्रचण्डले भनेका छन्, ‘अब पुनः लड्नुपर्ने भएको छ । शासनसत्तामा बसेर जनतालाई शासकले मनोरञ्जनको साधन बनाइरहेका छन् ।’
प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरुको सिद्धान्त भनेकै अत्याचार भएको पनि अध्यक्ष प्रचण्डको भनाइ थियो । उनले भनेका छन्, ‘आफ्नो अधिकारको लागि जनता आफैँ लड्ने बेला आएको छ ।’

यसैबीच अध्यक्ष प्रचण्डले प्रचण्डभित्र सबै कुरा अटाएको बताए । ‘प्रचण्डभित्र सबै कुरा अटाएको छ । दलित पनि यहीभित्र छ, आदिवासी जनजाति पनि यहीभित्र छ । मधेशी, सीमान्तकृत सबै सबै यहीभित्र छ । हिजोका केही सपना पूरा भएपनि सबै हुन बाँकी छ । यसकै लागि पनि अब पुनः लड्नुपर्ने भएको छ ।’

यस्तै अध्यक्ष प्रचण्डले आफूले शुरुदेखि नै राष्ट्रिय एकान्तका लागि मुद्दा उठाउँदै आएको बताएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आईतवार १५:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।