Logo

प्रमुख समाचार

एकीकृत समाजवादीमा झाँक्रीलाई धक्का, प्रेम आलेलाई दोहेरो खुसी



नेकपा एकीकृत समाजवादी पार्टीले ३ सय ३५ नेतालाई नयाँ जिम्मेवारी दिएको छ तर सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई पार्टीमा कुनैपनि जिम्मेवारी दिइएको छैन् । उनी नेकपा एसकी सचिव हुन् । उनले विद्यार्थी वा महिला मध्ये कुनै एक विभागको इन्चार्ज खोजेकी थिइन् ।

तर उनको माग अध्यक्ष माधव नेपालले पुरा गर्न आनाकानी गरेका छन् । उनले एक व्यक्ति एक जिम्मेवारीको नीति अनुसार उनलाई एउटा मात्र जिम्मेवारी दिएको बताएका छन् ।

जिम्मेवारी खोसिएपछि झाँक्री अध्यक्ष नेपालसँग रुष्ट बनेकी छिन् । झाँक्रीसहित तीन मन्त्रीलाई पार्टीमा विभागीय जिम्मेवारीविहीन बनाइएको हो । तर यता संस्कृति, पर्याटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले भने दोहारी जिम्मेवारी पाएका छन् ।

अरु तीन मन्त्री विभागीय जिम्मेवारीविहीन भएका हुन् । एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रहेका ​स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सचिव तथा सहरी विकास मन्त्री झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ पार्टीमा विभागीय जिम्मेवारी विहीन भएका हुन् ।

पार्टीका पोलिटब्युरो सदस्य रहेका मन्त्री आलेले सुदूरपश्चिम प्रदेश सहइञ्चार्जको जिम्मेवारी पाएका छन् । त्यस्तै वैकल्पिक पोलिटब्युरो सदस्य तथा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले पनि दोहोरो जिम्मेवारी पाएका छन् ।

उनले तेह्रथुम जिल्ला इञ्चार्ज पाएका छन् । सरकारमा काम गर्ने वातावरण राम्रो बनोस् भनेर तीन मन्त्रीलाई विभागीय जिम्मेवारी नदिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवाडाले बताए ।

प्रकाशित मिति : कार्तिक ११, २०७८ बिहीबार  १ : ५२ बजे

1.011k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।