नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ् कम्युनिष्ट लिग (वाइसीएल) नेपालले १६१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ। सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्र व्युँतिएपछि पेरिसडाँडामा दुई दिनसम्म बसेको वाइसीएलको केन्द्रीय समितिको चौथौं पूर्ण बैठकले समितिको सदस्य संख्या १६१ तय गरेको हो।
बैठकले संगठनका विभिन्न समितिहरुमा पुनगर्ठन गरी सबै समितिहरुलाई भेला आयोजक समितिमा रुपान्तरणसमेत गरेको अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ले जानकारी दिए।
बैठकले पुरानो सदस्यताको नवीकरण गर्दै प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १ हजारका दरले १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय पनि गरेको छ। सदस्यता वितरण चैत्र महिनाभित्र गरिसक्ने निर्णय भएको सापकोटाले बताए।
त्यसैगरी संगठनको राष्ट्रिय भेला आउँदो ०७८ साल जेठ २८ र ३० गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय भएको छ। इकाईदेखि स्थानीय तह हुँदै जिल्ला भेलाहरु बैशाख महिनाभित्र सम्पन्न हुनेछन् भने प्रदेश भेला जेठको २० गतेभित्र सम्पन्न हुने महासचिव सुवोधराज शेर्पालीले जानकारी दिए।
उनका अनुसार स्थानीय तह, जिल्ला तथा प्रदेश भेलाहरुबाट राष्ट्रिय भेलाका लागि प्रतिनिधिहरु छनौट प्रक्रिया सम्पन्न हुनेछ। त्यसरी छनौट भएका प्रतिनिधिहरु नै राष्ट्रिय भेलाका प्रतिनिधिहरु हुनेछन्। प्रतिनिधि छनौट प्रक्रियाका लागी संगठनात्मक कार्यविधि जारी गरिएको छ।
बैठकले मातृ पार्टी नेकपा माओवादी केन्द्र र एमालेबिच एकता सम्पन्न भई बनेको नेकपाको एकता भंग गराउन सफल एकताविरोधी गैर कम्युनिष्ट प्रवृतिको भण्डाफोर गर्दै हाल नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको एकाधिकारवादी, तानाशाही र गैरकम्युनिष्ट चरित्रको खेद व्यक्त गरेको छ।
प्रधानमन्त्रीको हैसियतमा निरकुंश र परिवर्तनविरोधी समूहको नेतृत्व गरिरहेका ओलीले आगामी दिनमा चाल्न सक्ने थप प्रतिगमनकारी कदमप्रति सदैव चनाखो र सचेत रहन आम जनसमुदाय तथा युवाहरुमा वाइसीएलले अपिलसमेत गरेको छ।
साथै प्रतिगामी कदम विरुद्धको संघर्षमा पुरै समर्पण र जिम्मेवारीका साथ सडक सघर्षमा होमिने संगठनका सम्पूर्ण नेता, कार्यकर्ता, युवा तथा जनसमुदायमा धन्यवाद दिएको छ। भुलवश प्रतिगमनकारी कित्तामा पुगेका संगठनका सदस्यलाई आफ्नै संगठन र वर्गमा फर्कनसमेत बैठकले अपिल गरेको छ।
प्रतिक्रिया