राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका लागि ढाका प्रस्थान गरेकी छिन् । राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत सोमबार बिहान ८ : ४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका प्रस्थान गरेकी हुन् । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीलाई बिदाइ गर्न विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत पुगेका थिए । भण्डारीले विमानस्थलमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।
उनी ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा। वंशीधर मिश्रले स्वागत गर्नेछन् । राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ सम्मान गरिनेछ ।
सोपश्चात् उनी त्यहाँको राष्ट्रिय सहिद स्मृति, सभारमा सहिदप्रति श्रद्धाञ्जलीका लागि पुग्नेछिन् । उनले सोमबार नै बङ्गलादेशका राष्ट्रपति हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया