मन्त्री एक
गत पुस ५ माप्रधानमन्त्री केपीशर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सत्ताको नेतृत्वकर्ता दल नै सत्ता र प्रतिपक्षमा उत्रियो । सत्तारुढ दलका नेता माधव र केपी गुटमा बाँडाबाँड भए । अघिल्लो दिन माधव नेपाल खेमामा लागेका नेता भोलिपल्ट ओली खेमा पुगे । त्यसताका गुट खोतल्दै हिँड्नेमा प्रदेश १ कि सांसद उषाकला राई पनि थिइन, जसलाई ओलीले केन्द्रीय सदस्यमा नियुक्त गरेपछि सामाजिक सञ्जालबाट पाठ पढाउँदै पद अस्वीकार गरेकी थिइन ।
त्यसपछिका केही समय राई र उनका पति पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ प्रचण्ड–नेपाल गुटमै रहे । ओलीका कामको विरोध गर्दै भाषणबाजीमा रहेका उनीहरु हठात् ओली गुटमा प्रवेश गरे । सांसद तानातान र नेता आफ्नो पक्षमा देखाउने होडबाजीबीच उनीहरुले खुलेरै ओली पक्षमा लागेकाले उषाकला राईले प्रदेशमा माननीयबाट मन्त्री पद पाएकी छिन ।
मन्त्री दुई
प्रदेश १ मा ओलीपक्षीय मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन भूमिका खेल्ने महत्वपूर्ण खेलाडी थिए टङ्क आङ्बुहाङ । उनी नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता भएपनि पार्टी छाडेर नेकपा एमालेमा लागेका उनलाई शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी मिल्यो ।
मन्त्री तीन
शुक्रबार मुख्यमन्त्री शेरधन राईले पदोन्नति गरिदिएका अर्का व्यक्ति हुन अम्बिरबाबु गुरुङ । धनाढ्य उनलाई गत माघ ५ मा मुख्यमन्त्री राईले राज्यमन्त्री नियुक्त गरेका थिए । उनलाई पैसावाल राज्यमन्त्री भनिन्थ्यो । सरकार ढल्ने तनावबीच राज्यमन्त्रीमा मात्र सीमित उनले शुक्रबार फुलमन्त्री पाए बढूवा भएर । त्यसो त गुरुङले हनिमुन ट्रिपमा रहेका राई दम्पतीलाई केहीदिन पछिले हेलिकोप्टरमा जिल्ला शयर गराएका थिए । गुरुङ ओलीपक्षमै रहेपनि राज्यमन्त्री भएको दुई महिनामै क्याविनेट मन्त्री बनेका छन् ।
मन्त्री चार
भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम राना पनि शुक्रबार क्याविनेट मन्त्री बनेका छन । उनी झलनाथ खनाल निकट मानिन्थे । केन्द्रमा खनालले ओलीविरुद्ध विषवमन गरेझैँ वमन गरिरहँदा उनी निकटका राना मन्त्री पद जोगाउनै लागेका छन । सरकारमा रहेसम्म उनी कुनै गुटमा नखुल्ने बुझिएको छ ।
राष्ट्रिय राजनीतिमा प्रधानमन्त्री ओली पार्टीभित्र जति शक्तिशाली बन्दैछन, प्रदेशमा पनि उनी निकटकाको नेतृत्वको सरकार टिक्ने अवस्था त छँदैछ ढल्नै नदिने गरी पद र पावरको उपयोग पनि हुँदैछ । नेपाल समूहमा रहेकै कारण एक वाक्यमा चिप्लिँदा ओली अघिल्लो पटक मन्त्री हुँदा शेरबहादुर तामाङले मन्त्री पद नै गुमाएका थिए । यसपटक आफ्नो गुटमा लागेकै कारण तामाङ पत्नी राईले मन्त्री पद पाएकी छन भने दल परिवर्तन गरेकाले आङबुहाङले मन्त्रालय पाएका छन । हुन त राजनीतिमा सम्भावनाका अनेकन खेल खेल्नेहरुले सत्ता र स्वार्थ अनुकूल चल्नु अस्वाभाविक होइन । त्यसैले मंगलबारको संसद बैठकमा माओवादी सांसद पम्फा भुषालले भनेकी छिन –‘अरुलाई नैतिकताको पाठ पढाउनेले आफू नैतिकवान बन्नु पर्दैन ?’
प्रतिक्रिया