नेकपा एमालेको संसदीय दलको आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट नेपाल – खनाल पक्षीय सांसदहरु पनि सहभागी भए ।
बैठकमा सहभागी स्थायी कमिटी सदस्य एवं नेपाल–खनाल पक्षका नेता योगेश भट्टराईका अनुसार आजको संसदीय दलको बैठकमा उनीहरुले फागुन २३ मा नेकपा एमाले बनेपछि २०७५ जेठ २ गते अगाडिको परिस्थिति अनुरुप अगाडि बढौँ भनेको जानकारी दिए ।
उनले भने –‘हामीले पार्टीमा उठाउँदै आएको फागुन २८ गतेको केन्द्रीय कमिटि र चैत्र ४ र ५ को संसदीय दलको निर्णय फिर्ता गरी पार्टी एकढिक्का बनाएर लैजानुपर्छ नेतृत्वले भन्ने कुरा उठायौँ ।’ बैठकमा नेपाल खनाल पक्षले संसदीय दलको विधान नेकपा एमाले व्युँतिएपछि नबनेकाले बनाउनुपर्नेमा जोड दिएका थिए ।
उनले भने –‘संसदीय दलको विधान नयाँ निर्वाचित भएपछि बनेको छैन प्रक्रिया मुताबिक बनाउनुपर्छ र पार्टी एकता कायम गर्नुपर्छ । तपाईँले पहलकदमी लिनुहोस भन्यौँ ।’ संसदीय दलको बैठकमा नेपाल खनाल पक्षका झलनाथ खनाल, योगेश भट्टराई घनश्याम भुषाल र गोकर्ण विष्टले धारणा राखेका थिए ।
खनाल नेपाल पक्षका मागबारे प्रधानमन्त्रीले पूर्ववत निर्णयमा पु्नर्विचार गर्न नसकिने स्पष्ट पारेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया