कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । नेता जोशीको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति ८ बजेर २४ मिनेटमा निधन भएको अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा। राजीव झाले जानकारी दिए ।
उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भई फागुन १४ गते नर्भिक अस्पताल भर्ना गरिएको थियो ।पूर्वसभासद जोशी २०३६ सालबाट विद्यार्थीकालबाटै राजनीतिमा लागेका थिए ।
यसैबीच, नेता जोशीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले दुस्ख व्यक्त गरेका छन् । सभापति देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली दिँदै आफू मर्माहत भएको जनाएका छन् ।
जोशीको प्रस्थान कांग्रेसका लागि मात्र नभई देशकै लागि अपूरणीय क्षति हो : निधि
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको प्रस्थान नेपाली कांग्रेसका लागि मात्र नभई देशकै लागि अपूरणीय क्षति भएको बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत नेता निधिले जोशीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जाली व्यक्त गरेका छन् ।
निधिले फेशबुकमा लेखेका छन्-
भावपूर्ण श्रद्धाञ्जली!
एक महिनाअघि मष्तिष्कघात भइ अस्पतालको शय्यामा जीवनका लागि सङ्घर्ष गरिरहनुभएका नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री नवीन्द्रराज जोशीको आत्माले अन्तत: भौतिक देह त्याग गरेको छ। विद्यार्थी छँदादेखि नै नेपालको लोकतान्त्रिक आन्दोलनमा होमिनु भएका जोशीको प्रस्थान नेपाली कांग्रेसका लागि मात्र नभई देशकै लागि अपूरणीय क्षति हो। जोशी जीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका परिवार/आफन्तजन/सुभेच्छुक सबैमा हार्दिक समवेदना प्रकट गर्दछु।
जोशीको निधनले गगन थापा मर्माहत, अग्रज मार्गदर्शक गुमाएको प्रतिक्रिया
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले नेता नविन्द्रराज जोशीको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले यस्तो बताएका हुन् । उनले आफूहरुले विद्यार्थी कालदेखिका अग्रज मार्गदर्शक गुमाएको पनि उल्लेख गरेका छन् ।
उनले लेखेका छन्-“अत्यन्त मर्माहत भएको छु। नविन्द्र दाई,हामीमाझ हुनुहुन्न भनेर पत्याउन सकिरहेको छैन।पार्टी संगठनका,विचार अनि विकासका थुप्रै कुरा सिक्न र संगै काम गर्न बांकी थियो।हामीले एक समन्वयकारी,सालिन नेता र विद्यार्थी कालदेखिका अग्रज मार्गदर्शक गुमाएका छौं। हार्दिक श्रद्धाञ्जली नविन्द्र दाई!”
प्रतिक्रिया