Logo

प्रमुख समाचार

प्रधानन्यायाधीश राणाको अधिकार खोसियो, राजपत्रमा प्रकाशित भयो यस्तो सूचना



काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अधिकार कटौती भएको छ । प्रधानन्यायाधीले आफ्नो तजबिजीका आधारमा इजलास तोक्ने गरिएकोमा गोलाप्रथाबाट पेशी तोक्ने नियमावली पारित भएपछि राणाको तजबिजी अधिकार कटौती भएको हो ।

गत मंसिर २ गते प्रधानन्यायाधीश राणाको अनुपस्थितिमै सर्वोच्चका १८ जना न्यायाधीशहरुको बैठकले गोलाप्रथा लागू गर्ने नियमावली पारित गरेको थियो । उनीहरुले बिहीबार पारित गरेको ‘गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका २०७८’ सोमबार राजपत्रमा प्रकाशित भएसँगै अब प्रधानन्यायाधीशले पेशीमा आफ्नो स्वविवेक प्रयोग गर्न नपाउने भएका छन् ।

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको अध्ययन समितिले न्यायालयमा देखिएको विकृति विसंगतिको अन्त्य गर्न तत्काल गोलाप्रथा (राफल प्रणाली) र दीर्घकालमा अटोमेसनमा जान सुझाएको थियो । उक्त सुझाव बुझ्दै प्रधानन्यायाधीश राणाले भदौ १६ बाटै उक्त प्रणाली लागू गर्ने वचन दिएकामा आफ्नो अधिकार कटौती हुने देखेपछि प्रणाली लागू गर्नबाट पछि हटेका थिए ।

गत कार्तिक ८ गतेदेखि प्रधानन्यायाधीशका विरुद्ध इजलास नै बहिस्कार गरेर कानून व्यवसायीहरुको आन्दोलनलाई समर्थन गरिरहेका थिए । राफल प्रणालीबाट पेशी तोक्ने व्यवस्था हुने भएपछि न्यायाधीशहरु शुक्रबारदेखि आफ्नो जिम्मेवारीमा फर्किएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ५ : ०४ बजे