Logo

राजनीति

पत्रकारको निष्कर्ष – महासंघलाई ठेकेदारको अखडा बनाइयो  



अरुलाई समस्या पर्दा वा गुनासा आउँदा सुन्ने पत्रकारहरु यतिबेला आफैँ गुनासा सुनाइरहेका छन । सोमबार राजधानीमा नेपाली कांग्रेसको भातृ संगठन प्रेस युनियन निकट नकुल अर्यालले केही पत्रकार भेला गरी नाम दिए –‘क्रियाशील पत्रकार भेला ।’ सक्रिय पत्रकारिता गरिरहेकाले मात्र पत्रकारका समस्या समाधानका लागि पहल गर्न सक्ने भएकाले क्रियाशील पत्रकारहरु डाकेको उनको जिकिर थियो । त्यसो त भेलामा सहभागीका आ–आफ्नै गुनासा थिए ।

पत्रकार महासंघ पत्रकारहरुकै संगठन भएपनि यो दलीयकरण भयो । दलीय भागबण्डा र दलले तोकेका बाहेकले सदस्यता लिनै नपाएको पनि उनीहरुको भनाई थियो । त्यसो त झण्डै १३ हजार सदस्य रहेको पत्रकार महासंघमा सदस्यताकै विषयलाई लिएर ठूलै विवाद र गुनासाका चाङ छन । हुन पनि महासंघको सदस्य अझै पनि सक्रिय राजनीति गरेका, सेनाप्रहरीमा सुराकीको जागिर खाएका, उद्यम व्यवसाय गरेर पेशा पलायन भएका तर भोट पार्टीलाई हाल्ने भएकाले पार्टीका क्याडर महासंघको सदस्य छन ।

व्यावसायिक रुपमैँ पत्रकारिता क्षेत्रमा रमाएकाहरु अझै पनि पत्रकार महासंघको सदस्य बन्न पाएका छैनन । पत्रकार महासंघको केन्द्रीय समितिका पूर्व सदस्य दीपेन्द्र कुँवर भन्छन – ‘म केन्द्रीय समितिमा भएँ तर त्यहाँ भित्रकै सदस्यले केन्द्रीय समितिमा लिस्ट हेर्न नै पाइँन । वर्षौँदेखि पत्रकारिता गरेकाहरु छैनन । महासंघमा निश्चित सिण्डिकेटबाट सदस्य थप्ने र चुनाव जिताउने मात्र काम हुन्छ । ’
महासंघमै केन्द्रीय सदस्य रहिसकेका नारायण अर्यालको भनाइमा पत्रकार महासंघ ठेकेदार भयो । उनी भन्छन, महासंघ दलको भातृ संगठनजस्तो देखियो । महासंघकै अर्का केन्द्रीय सदस्य माधव दुलालको भनाइमा दलका नेताहरु रहेको भनेर विरोध गरेर सदस्यता हटाउँदा अर्को स्थानमा लगेर व्यवस्थापन गरिएको छ । उनी भन्छन– ‘सांसद मन्त्री भैसकेका समेत पत्रकारहरुले छान्ने नेताको भोटर लिस्टमा छन । अघिल्लो पटक हामीले विज्ञप्ति नै निकाल्नुप¥यो सदस्यताबारे ।’

सक्रिय पत्रकारहरुका भनाइमा महासंघमा धेरै एजेण्डा छन । तर सक्रिय पत्रकारका एजेण्डाको सम्बोधन दलीय छातामुनि हुन्न । यद्यपि सक्रिय पत्रकारहरु देशभरका पत्रकारको छाता संगठनमा चुनिएमा त्यसले भने अर्थ राख्ने धेरैको अपेक्षा छ । दलीयकरणको चपेटामा रहेको पत्रकार महासंघमा पहिलोपटक प्रत्यक्ष रुपमा चुनाव हुन लागेको छ ।

नेपाल पत्रकार महासंघको यही चैत २५ गते हुने चुनावले अहिले पत्रकारलाई तताएको छ । महासंघको यस पटकको चुनावमा ५२ पदका लागि झण्डै दुई सय जनाको उम्मेदवारी परेको छ । केन्द्रीय निर्वाचन समितिका अनुुसार शनिबार भएको उम्मेदवारी दर्ता कार्यक्रममा केन्द्रीय समितिको ४९ र लेखा समितिका तीन गरी ५२ पदमा १९६ जनाको उम्मेदवारी परेको छ ।

महासंघमा यसपटक प्रेस चौतारीको नेतृत्वमा प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी गठबन्धन बनेको छ भने प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धन बनेको छ । नेपाली कांग्रेसनिकट प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र एमाले माधवकुमार नेपालनिकट प्रेस चौतारीसहित विभिन्न १२ संगठनले गठबन्धन बनाएर उम्मेदवारी दिएका छन ।

नेकपा एमाले केपी शर्मा ओलीपक्षको प्रेस चौतारी र नेत्रविक्रम चन्द ‘विप्लव’ पक्षको जनपत्रकार संगठनले संयुक्त उम्मेदवारी दिएका छन । महासंघमा यसपटक अघिल्लो पटक झैँ जयनेपाल र लालसलाम वा अन्य झण्डामुनि आबद्ध क्याडरहरु मात्र भोटर नभएकाले र पत्रकारहरुले प्रत्यक्ष रुपमा चुनावमा आफैँ सहभागी मतदान गर्न पाउने भएकाले नतिजा अपेक्षा गरेभन्दा फरक आउने धेरैको अनुमान छ । 

 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार १९:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।