Logo

राजनीति

ओलीको प्रश्न –प्रचण्ड जी, पार्टी मिलाइदिने काम अदालतको हो ? 



हरि न्यौपाने,  
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा पार्टी भित्रको विवाद मिलाइदिने काम अदालतको नभएको भन्दै पुनरावलोकनको अर्थ नहुने बताएका छन । नेकपा माओवादी केन्द्रले आज नेकपाबारेको फैसला पुनरावलोकनका लागि निवेदन दिएपछि प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया आएको हो ।

उनले भने –‘पार्टी मिलाइदिने काम अदालतको हो ? मिल्न खोजेको भए मिल्न हिँड्नुुस डबलीको भाषा बोलेर एकता हुन्न ।’ रिपोर्टस क्लब नेपालको २३ औँ वार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले अदालत मजाक गर्ने ठाउँ नभएको बताए । ‘पुनरावलोकनमा गएका छन । अदालत मजाक गर्ने ठाउँ हो र ?’ उनले अदालतले एकता गर्न १५ दिनको समय दिएर नयाँ नामको पार्टी दर्ता गर्न भनेपछि आफूले प्रचण्डलाई फोन गर्दा पछि कुरा गर्ने भनेर प्रचण्डले फोन राखेको उनले बताए । आफूले मिलाउन चाहँदा टारिएको अनि एकता अदालतले भंग गरिदियो भनेर गुनासो गर्ने गरिएको पनि उनले जिकिर गरे । 

उनले भने –‘दलको नेता हटाउने, पार्टी अध्यक्षलाई साधारण सदस्यबाट हटाउने, अनि एकताको कुरा गर्ने ?’ उनले भने –‘म पनि महन्थ जीको पार्टीमा समस्या छ मिलाइदिनुहोस भनेर अदालत जानुपर्ला ।’

प्रचण्डका स्वार्थका पछि देश सती जानुपर्ने हो ?

कार्यक्रममा प्रधानमन्त्री ओलीले देश प्रचण्डका स्वार्थका पछि सती जान नसक्ने बताए । उनले भने –‘देश प्रचण्डको स्वार्थमा सती जानुपर्ने हो र ?’ उनले केही नेताका स्वार्थका कारण देश समस्यामा परेको बताए । उनले प्रचण्डसँग आफू नडराउने पनि बताए ।

‘ कुनै बेला थियो प्रचण्डसँग मानिसहरु डराउँथे म त डराउँदैनथेँ उतिबेलैदेखि । उहाँका आज त सो कल्ड –तथाकथित) सेना छैन, हतियार छैन किन डराउने ?’ प्रधानमन्त्रीले छेलो खेल्ने प्रसङग निकाल्दै भने – ‘प्रचण्डजी उमेर सम्झनुस ढाड सड्किएला ।’  

प्रधानमन्त्रीले  माधव नेपाललाई पनि अध्यक्ष बन्न हतारो भएपछि पार्टीमा समस्या निम्त्याएको बताए । उनले भने–‘ मसँग चुनाव हारेको मान्छे, पार्टीभित्रै तेस्रो अध्यक्ष खानुस भन्दा खान मान्नु भएन अनि प्रचण्डसँग लागेपछि प्रचण्डपछिको त खानुहुने रहेछ ।

चैत्रमा महाधिवेशन गरौँ भन्दा आजै अहिल्यै अध्यक्ष हुनुपर्ने रहेछ ।’ केही मान्छेलाई पदलोलुपताका कारण देशमा संकट बढेको भनेर जिकिर गरिएको उनको भनाइ छ । उनले भने –‘देशमा संकट भएको छैन भएको भए तीनै मान्छेका स्वार्थका कारण भएको हो ।’

प्रकाशित मिति : चैत्र १७, २०७७ मंगलबार  ५ : ५८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।