Logo

प्रमुख समाचार

केपी ओली रहुन्जेल एमालेमा नजाने वामदेव गौतमको घोषणा



प्रतिपक्षमा रहेको दल नेकपा एमालेको परित्याग गरेका प्रभावशाली नेता वामदेव गौतम केपी ओली रहँदासम्म एमालेमा नजाने बताएका छन् । बीबीसीलाई दिएको अन्तर्वार्तामा गौतमले आफू ओली रहुन्जेल एमालेमा फर्किने सम्भावना नरहेको बताए।

बीबीसीका पत्रकारले ओलीले एमालेको नेतृत्वमा फर्किनुस् भनेर आग्रह गर्ने आशा छ ? भनेर सोधेको प्रश्नमा गौतमले भनेका छन्, ‘आशाको एउटा सानो त्यान्द्रो पनि छैन, त्यसो उहाँले गर्दै गर्नुहुन्न ।

त्यो चरित्रचाहिँ छैन । कमरेड केपी ओलीले जिन्दगीमा आत्मालोचना गरेको कहिले मलाई थाहा छैन । कसैलाई पनि उहाँले लगाएको गुन तिर्नुहुन्न, काम लगाउने हो लगाउने हो लगाउने हो, त्यसपछि फाल्दिने हो।’

बरु एकीकृत समाजवादीमा जनताको बहुदलीय जनवाद लागु गराउन आफू प्रयत्नरत रहेको उल्लेख गर्दै त्यसमा प्रवेश गर्ने सम्भावना रहेको तर केपी ओली रहँदासम्म आफू एमाले नजाने उनले बताएका हुन्।

अन्तर्वार्ताकारले यो उमेरमा राजनीति जीवनमा यस्तो वियोगान्त हुनुपर्ला वा राजनीतिबाट बहिर्गगमनमा पर्नुहोला भनेर सोध्दा नेता गौतमले त्यसलाई अस्वीकार गर्दै नयाँ पार्टी बनाउन पनि सकिने तथा एकीकृत समाजवादीमा प्रवेश गर्न पनि सकिने जवाफ दिएका हुन्।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार १०:२९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।