Logo

राजनीति

कांग्रेस महाधिवेशन : परास्त हुने भएपछि टिक्न पौडेलका अव्यवहारिक प्रस्ताव



नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा आफू परास्त हुने डरले नेताहरुले आफूलाई केन्द्रबिन्दुमा राखेर नयाँ नयाँ प्रस्ताव ल्याउन थालेका छन् । विशेषगरी नेतृत्वमै बस्नु पर्ने, नेता, कार्यकर्ता र पार्टीका लागि केही नगर्ने नेताहरुले त्यस्तो प्रस्ताव ल्याउन थालेका हुन् ।

अहिले पुरानो पुस्ताका नेताहरुलाई विधानमा प्रत्यक्ष नै निर्वाचित भएर पदाधिकारी बन्नुपर्ने प्रावधान राखिएपछि गाह्रो भएको छ । सभापतिमा भिड्ने नेताहरुलाई पनि नयाँ पुस्ताका महाधिवेशन प्रतिनिधिले नपत्याउने चिन्ता छ ।

त्यही भएर कसरी आफू नेतृत्वमा रहने भन्ने रणनीति उनीहरुले बुन्न थालेका छन् । यस्तो रणनीति बनाउने एक नम्बरमा नेता रामचन्द्र पौडेल देखिएका छन् । १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्दै शेरबहादुर देउवासँग पराजित भएका पौडेल अहिले पनि सभापति बन्ने आकांक्षा पालेका छन् ।

तर, आफ्नै समूहमा धेरै उम्मेदवार बन्ने निश्चित भएपछि जित्न नसक्ने निष्कर्षमा उनी पुगेका छन् । जित्न नसक्ने निष्कर्षमा पुगे पनि कसरी नेतृत्व तहमै रहन सकिन्छ भनेर पौडेलले कार्ड फालिरहेका छन् ।

उनले आइतबार १३ औं महाधिवेशनका लागि निर्वाचित भएका प्रतिनिधि कायम राखेर १४ औं महाधिवेशन निर्धारित मितिमा गर्नु पर्ने प्रस्ताव बाहिर ल्याए । प्रस्तावको आफू पार्टीको नेतृत्वमा रहिरहने प्रपञ्च अनुरुप आएको प्रस्ताव भनेर चर्को आलोचना भएपछि ल्यसलाई ढाकछोप गर्न उनले अर्को कार्ड फालेका छन्, विशेष महाधिवेशनको ।

पौडेलले अनौपचारिक रुपमा सभापति देउवा र नेताहरुसँग १३ औं महाधिवेशनकै प्रतिनिधिबाट महाधिवेशन गर्नुपर्ने बताउदै आएका थिए । पाँच वर्षअघि भएको महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिलाई मात्र समावेश गर्ने उनको प्रस्ताव भने व्यवहारिक कारणले सम्भव नहुने धेरै नेता कार्यकर्ताले बताउँदै आएका छन् ।

१३ औं महाधिवेशनपछि विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन लोकतान्त्रिक फोरम र सुनिल थापाको नेतृत्वमा राप्रपाका हजारौं कार्यकर्ता कांग्रेसमा समाहित भएकाले उनीहरुको व्यवस्थापनि पनि त्यसरी महाधिवेशन गरेमा हुँदैन ।

पौडेलले फागुन ७ मै महाधिवेशन गर्न यस्तो विकल्प उपयुक्त हुने भनेपनि नयाँ प्रतिनिधि आएमा आफ्नो राजनीतिक करिअर सकिने भएकाले त्यस्तो विकल्प अधि सारेका हुन् । 

त्यो विकल्प बारे चर्को विरोध भएपनि सोमबार पुनः संवैधानिक संकट निम्ताएर पार्टीलाई दुर्घटनामा जान नदिनका लागि विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव बाहिर ल्याएका छन् ।

विधिसम्बत महाधिवेशन हुँदा पार्टीको नेतृत्वतहबाट आफू बढारिने देखेका पौडेलले नेतृत्व तहमै रहिरहन विभिन्न विकल्प ल्याएर नेता र कार्यकर्तालाई अल्मल्याउने प्रयास गरेको प्रष्ट देखिन्छ ।

कहिले अर्ली महाधिवेशन, कहिले नियमित महाधिवेशन, कहिले पुरानै प्रतिनिधिबाट महाधिवेशन गर्नुपर्ने र कहिले कृषि क्रान्तिमा पार्टीले ध्यान दिनु पर्ने बताउँदै आएका पौडेलले अहिले विषेश महाधिवेशनको कार्ड फ्याकेका हुन् । अभियान टाइम्सका साथमा । 

प्रकाशित मिति : आश्विन १०, २०७७ शनिबार  १ : ३३ बजे