प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका चार सांसदको सांसद र मन्त्री पद समेत गुमाए पनि फेरी मन्त्री पदमा नियुक्ति गर्ने तयारी सुरु गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा चरम विवाद हुँदा ओली क्याम्पमा लागेर मन्त्री बनेका ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरीलाई पार्टीबाट निष्कासित गरी संसद् सचिवालयलाई समेत जानकारी पत्र पठाएको थियो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्धारा हस्ताक्षरित दल त्याग सम्बन्धी कारबाहीको जानकारी पत्रमा माथि उल्लेखित सांसदहरूले दलको विधान र राजनीतिक दलसम्बन्धी ऐनले तोकेको दायित्व जानाजान उल्लङ्घन गरेको भन्दै माओवादी केन्द्रले गत चैत १ गते स्पष्टीकरण माग गर्दै सरकारबाट फिर्ता आउन निर्देशन दिएकोमा सहरी विकास मन्त्री प्रभु साहले दिएको जवाफ चित्तबुझ्दो नभएको र ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरीले स्पष्टीकरणको जवाफ नै नदिएकोले कारबाही गरिएको थियो ।
यससँगै आजै मात्र सभामुख अग्नि सापकोटाले चार मन्त्रीले दल त्याग गरेको प्रतिनिधिसभालाई जानकारी दिए लगत्तै ४ जना नै पद मुक्त भएका थिए । यता प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा एक छलफलको आयोजना गर्दै आजै उनीहरूको पुनर्नियुक्तिबारे आफू निकटका नेताहरूसँग कुरा अघि बढाएका छन् ।
छलफलमा सहभागी एक नेताले प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै भने ‘उहाँहरूको पुनर्नियुक्ति गर्नु पार्टी र सत्ता सञ्चालन दुवैको लागि राम्रो हुन्छ।’ उनले अनलाइनपानासँग भने ‘संविधानमा अर्को पनि वैकल्पिक धारा रहेको छ, जस अनुसार ४ जनालाई नै सांसद नभए पनि ६ महिना मन्त्री बन्न पाउने व्यवस्था छ । सोही धाराको प्रयोग गर्ने प्रधानमन्त्रीको तयारी रहेको छ ।’
उनका अनुसार आज मात्रै पद गुमाएका ४ जनालाई नै पुनर्नियुक्ति गर्ने सम्भावना रहेको छ । जसमा आजको छलफल सकारात्मक देखिएको हो ।
प्रतिक्रिया