Logo

राजनीति

तीन दल बैठक: देउवाले कांग्रेस नेतृत्वमा सरकार बनाउन प्रस्ताव राखे, जसपाले समय माग्यो 



नेपाली कांग्रेसको आयोजनामा सरकार गठनका लागि आज बसेको प्रमुख तीन दलको बैठकमा नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने औपचारिक प्रस्ताव राख्दै सहयोगका लागि अन्य दलसँग आग्रह गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा  आज बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार गठनका लागि कांग्रेसले गरेको निर्णयबारे जानकारी गराउँदै सहयोगका लागि आग्रह गरेका थिए । बैठकको सुरुमैँ सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावाद उन्मुख भएको भन्दै नयाँ सरकार बनाउनुपर्ने बताएका थिए ।

बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने –‘नयाँ सरकार गठनका लागि भएको औपचारिक बैठक हो । कांग्रेसको बैठकले नयाँ सरकार बनाउन अग्रसरता लिने र यसका लागि पहल गर्ने भनेर निर्णय गरेका छौँ । आजको बैठकमा औपचारिक रुपमा प्रस्ताव राख्छौँ  । यो प्रस्तावउपर राख्ने धारणापछि अघि बढौँ, भन्नुभयो । यसमा नेकपा माअ‍ोवादीले हामी सरकार गठनमा सुरुवात देखि नै प्रष्ट छौँ भन्ने कुरा आयो । जसपाबाट महन्थ ठाकुर, उपेन्द्र यादवले औपचारिक रुपमा बल्ल प्रस्ताव आएको छ । विधिवत बैठक बसेर निष्कर्ष निकाल्छौँ भन्नुभयो । अब अर्को बैठक बसेर थप निर्णय गर्ने कुरा भयो ।’

बैठकमा नेकपा माअ‍ोवादी केन्द्रले सत्ता समीकरणका लागि आफूहरु सकारात्मक भएको जानकारी गराएको थियो । बैठकपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने –‘ जसपाले हामीले औपचारिक रुपमा छलफल गरेर निर्णय लिएका छैनौँ । छिट्टै छलफल गर्छौँ र निर्णय लिन्छौँ । आन्दोलनमा चलेका मुद्धा फिर्ता मन्त्री रिहा लगायतका विषय पनि छन भन्ने कुरा राखेको छ । जसपाले यसबारे आवश्यक छलफल र निर्णय गरेर फेरि बस्ने भन्ने भयो । ’

बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरु सहभागी थिए । नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायण अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो र अशोक राई सहभागी थिए ।

नेपाली कांग्रेसले गत चैत्र २० गते केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्रीको राजीनामा माग गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो । 

प्रकाशित मिति : चैत्र २७, २०७७ शुक्रबार  ५ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।