Logo

राजनीति

पोखरामा राष्ट्रिय मेयर सम्मेलन सुरु



पोखरामा मंगलबारबाट राष्ट्रिय मेयर सम्मेलन सुरु भएको छ । स्थानीय निर्वाचनपछि स्थानीय सरकारका प्रमुखहरु एकै ठाउँमा जम्मा भएर सरकार सञ्चालनका बारेमा सिकेका सिकाइ अनुभव आपसमा साटासाट गर्ने कार्यक्रमको आयोजना गरिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मेलनको उद्घाटन गर्नेछन् । सम्मेलनमा करिब २ सय मेयरहरु सहभागि हुने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए ।

सम्मेलनमा स्थानीय सरकार सञ्चालन ऐनले पारेका सकारात्मक तथा नकारात्मक प्रभावहरुको छलफल गरी संविधान अनुरुपका हक अधिकारहरू स्थापित गर्न आवश्यक कानुनी संरचनाहरूको समेत पहिचान गर्ने उद्देश्यले रहेको प्रमुख जिसीले बताए ।

पोखरा महानगरपालिकाले नयाँ वर्षको अवसरमा बुधबार मेयर साइकल दौड प्रतियोगिता आयोजना गर्नेछ । कास्की जिल्ला साइक्लिङ संघ, साइकल सिटी पोखरा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघसँग हातेमालो गर्दै ‘वातावरण जोगाऔं, स्वस्थ रहौं’ भन्ने नाराका साथ प्रतियोगिता गर्न लागेको प्रमुख जिसीले बताए । प्रतियोगितामा देशभरका स्थानीय तहका प्रमुखलाई सहभागिताका लागि पत्राचार गरिसकिएको छ ।

बढ्दो औद्योगिकीकरण र सवारी साधनको अधिक वृद्धि भएको अवस्थामा महानगरले साइकल प्रयोगलाई प्रेरित गर्दै लैजाने नीति अघि सारेको उनले बताए ।

प्रतियोगितामा सहभागीले महानगरपालिकाको कार्यालयबाट सुरु गरी न्युरोड, सृजनाचोक हुँदै लेकसाइडको हल्लनचोकसम्मको ५ किलोमिटर दूरी पार गर्नुपर्ने प्रीतयोगिताका संयोजक दर्शन लामाले जानकारी दिए । प्रतियोगितामा विजेतालाई पुरस्कारको व्यवस्था भने गरिएको छैन । सबै स्थानीयबीच आत्मीयता बढाउन र साइकलको प्रवद्धन गर्न यस्तो प्रतियोगिताले टेवा पुग्ने संयोजक लामाको भनाइ छ ।

 

प्रकाशित मिति : चैत्र ३१, २०७७ मंगलबार  १२ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।