Logo

राजनीति

ओलीको दम्भले एकताको सम्भावना क्षीण हुँदै गयाे : नेता नेपाल



नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् ।

शुक्रबार जनकपुरधामस्थित एमाले पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले केपी ओली दम्भको वायुपङ्खी घोडामा चढ्नुभएको कारण एकता क्षीण हुँदै गएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीको दम्भ धरहरा भन्दा अग्लो भएको उनको टिप्पणी छ ।

पार्टी गम्भीर सङ्कटको चरणबाट गुर्जी रहेको छ भन्दै उनले सङ्कटको सिर्जनकार पार्टी अध्यक्ष भएको आरोप लगाए । उनले आफूसँगको कुराकानीमा आफू समाधानको बाटो अपनाउन आग्रह गरेकामा पार्टी अध्यक्षले पार्टी एकता सुन्नै नचाहेकाले पार्टी, लोकतन्त्र, संविधान, सङ्घीयता, विधि र प्रक्रिया धरापमा परेको धारणा राखे। पार्टी अध्यक्षलाई २७ संसद्को पद खोस्ने कुनै आधार नरहेको स्पष्ट गर्दे उनले आफूहरूको मूल घर नेकपा (एमाले) नै रहेको स्पष्ट पारे ।

नेकपा एमालेको एकता बचाउन र कम्युनिस्ट आन्दोलनको रक्षा गर्न राष्ट्रिय कार्यकर्ता भेलामा राजनीतिक प्रस्ताव गरेको नेता नेपालले बताए ।

नेता नेपाल भन्छन्-कुराकानीमा कुनै प्रगति भएन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार पनि भेटवार्ता भएको छ ।काठमाडौंको मेरियट होटलमा करिव डेढ घण्टा भएको छलफलमा पार्टी बिवादका बिषयमा केन्द्रीत रहेको थियो ।

भेटमा दुई नेताले पार्टीको विवाद समाधानका बिभिन्न उपायकाबीचमा छलफल भएको स्रोतले जनायो । भेटपछि ओलीले कुनै प्रतिक्रिया दिएनन् । त्यस्तै नेता नेपालले संक्षिप्त प्रतिक्रिया दिदै कुराकानीमा कुनै प्रगति नभएको बताए ।२०७५ जेठ २ गतेअघिकै नेकपा (एमाले) ब्युँताउने सर्वोच्चको २०७७ फागुन २३ गतेको आदेश कार्यान्वयन गर्नुपर्ने नेपाल पक्षकाे अडान छ ।

नेताद्वयबीच बुधबार पनि मेरियट होटलमै संवाद भएको थियो । बिहीबारको भेटमा क्रममा मेरियट होटलको झ्यालबाट नेताद्वयले नवनिर्मित धरहराको अवलोकनसमेत गरेका थिए ।

प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार  २ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।