पुनर्निर्मित धरहराको उद्घाटन हुँदैछ । वि.सं. २०७२ सालको भूकम्पमा परेर ध्वस्त भएपछि पुनर्निर्माण गरिएको धरहराको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्न लागेका हुन् ।
भीमसेन थापाले तत्कालीन समयमा ११ तल्ला अग्लो बनाएका धरहरा अहिलेको पुनर्निर्माणको क्रममा २२ तल्ला अग्लो बनाइएको छ । बिहान ११ बजे प्रधानमन्त्री ओलीले धरहरा उद्घाटन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । भीमसेन थापाले बनाएको ११ तल्ले धरहरा १९९० सालको भूकम्पमा ढलेको थियो । जसको पुनर्निर्माणका क्रममा जुद्ध शमशेरले सोही स्थानमा ९ तल्ले धरहरा बनाएका थिए ।
नयाँ बनेको धरहरा ऐतिहासिक सम्पदा भएपनि अहिले यसको पुनर्निर्माण बहुउपयोगी आधुनिक भवनको रुपमा भएको छ । यहाँ तीनतले पार्किङ स्थलको निर्माण कार्य जारी रहेको छ । सुन्धारा, न्युरोड, रत्नपार्क क्षेत्रमा आउने गाडी यहाँ सःशुल्क पार्किङ गर्न सकिने छ । न्युरोड क्षेत्रको पार्किङ समस्या समाधान गर्न यो सुविधा थप्न लागिएको प्राधिकरणले बताएको छ ।
आधुनिक ढंगले पुनर्निर्माण गर्न जमीन अपुग भएपछि सरकारले गोश्वारा हुलाक, टक्सार विभाग, नेपाल राष्ट्र बैंक र सुन्धारामा रहेको सबै जमिन एकीकृत रुपमा विकास गर्नेगरी लिएको थियो । जसकारण पहिले पाँच रोपनी क्षेत्रफलमा भएको धरहराले अब भने ४२ रोपनी क्षेत्रफल ओगटेको छ ।
प्राधिकरणबाट पारित डिजाइनअनुसार गोश्वारा हुलाक भएको ठाउँमा धरहरा प्रवेशद्वार रहेको छ । भित्र छिरेपछि दुई तला भूमिगत बनाइएको छ । भूमिगत तलाबाट लिफ्ट चढेर धरहराको माथिल्लो भागमा पुग्न सकिने व्यवस्था रहेको छ । यसबाहेक धरहरा चढ्नका लागि भर्याङको पनि निर्माण गरिएको छ ।
प्रतिक्रिया