लोकतन्त्र अर्थात जनताको शासन । लोकतन्त्रलाई अर्को शब्दमा विधिको शासन भनिन्छ । यो व्यवस्थामा सबैको आवाज सुनिन्छ । बहुमत मात्र हैन, अल्पमतको स्वर पनि कदर हुन्छ । ठूला हैन, सानाको आवाजले पनि ठाउँ पाउँछ । हाम्रोमा थुप्रै पटक राजनीतिक परिवर्तन भए ।
एउटा व्यवस्था मिल्काएर अर्को व्यवस्था प्रतिस्थापित भयो । आन्दोलनका पक्षमा नाराजुलुस भए । पञ्चले लाउने दौरा सुरुवाल नेताको आङमा सर्यो । पञ्चका नेताले चढ्ने गाडीमा नेताको दौडधूप बढ्यो । सिंहदरबार उही, कर्मचारीको कार्यशैली उही, अरु त अरु कार्यालयको टेबल कुर्सी उही, टिप्पणी, सदरको शैली उही आखिर नेताको सरुवा, बढुवालाई हामीले लोकतन्त्रको नाम दियौं । जनताले पाएको सुविधा भनेको जिन्दावाद र मुर्दावाद मात्रै हो ।
हामी लोकतन्त्रका लागि योग्य भएनौं या हाम्रा लागि लोकतन्त्र योग्य भएन आज पेचिलो प्रश्न भएर उभिएको छ । नेतालाई डिलर बनाउने यसखाले लोकतन्त्रको अभ्यास कहिलेसम्म गर्ने ? जनतालाई रहर, नेतालाई कहर हुने यो कस्तो पद्दति हो ? संसारका सबै चीज वस्तु चलायमान छ । प्रकृतिका हरेक चराचरको आयु छ । तर नेपालको लोकतन्त्र सधैं बालक किन भइरहन्छ ? कुपोषित लोकतन्त्रको गाथा बोकेर कति पुस्ता मुर्छित जिन्दगी बाँचिरहने ?
नेपालको लोकतन्त्र पानी आकारको छ । कोही ०७ सालमा आएको राजनीतिक परिवर्तनलाई लोकतन्त्रको जग मान्छन् । कोही ०१७ सालमा अडिन्छन, कोही ०४६ सालभन्दा तलमाथि हुन चाहँदैनन । अर्को तप्का छ ०६२, ०६३ को परिवर्तनले छक्का हानेर अरुलाई उल्टाइदिएको गौरव गर्छन । आफू अनुकूलको व्याख्यामा लोकतन्त्रको परिचय कसरी स्थापित हुन्छ ? नेतालाई मात्र फाप्ने लोकतन्त्रको औचित्य के हो ? लोकतन्त्र नेताले लगाउने जुत्ता होइन, जो विभिन्न साईजमा भेटियोस् । लोकतन्त्रले नेताहरुको आचरण र मर्यादा खोज्छ । इमान खोज्छ । चुनावमा लाइन लागेर कुनै पार्टी सत्तामा जानु लोकतन्त्रको पहिलो र अन्तिम विधि होइन ।
लोकतन्त्रको मापन त जनताको घरमा चुलो धुवायो कि धुवाएन ? टाक्सिएको पेटमा अन्न पस्यो, पसेन ? चुहेको घरको धुरी टालियो, टालिएन ? गफको विकल्प गफ बनेको देशमा कामको विकल्प काम भयो, भएन ? परनिर्भरताको ग्राफ आत्मनिर्भरतिर बढ्यो, बढेन ? देशमा रोजगारीको बाटा खुले, खुलेनन ? गाउँका युवा भेट्न खाडी पुग्नुपर्ने दुर्दान्त कथाको अन्त्य भयो या भएन ? लोकतन्त्रले भोकतन्त्रमाथि विजय किन पाएन ? वर्षौंदेखि प्रश्नहरुको चाङमा लोकतन्त्र उभिएको छ । यी प्रश्नको उत्तर दिने साहस कुनै राजनीतिक शिल्पीसंग छैन ।
जेलनेल, पुलिसको कुटाईले ल्याएको लोकतन्त्रको औचित्य सकियो । अबको लोकतन्त्र देश बनाउने भिजनबाट निर्देशित हुनुपर्छ । नयाँपुस्ताका लागि जेलनेलबाट निर्मित विरासतको औचित्य छैन । हजुरबाले खाएको घिउको बास्नाले अर्को पुस्तालाई पुग्ने होइन । देश बनाउनेहरुले हजुरबा, छोरो र नाति तीन पुस्तालाई हेरेर निर्माण तहमा आफूलाई ढालेका दिन देशमा सगुन आउन धेरै समय कुर्नु पर्दैन । आगो बल्ने धुवाँ नदेखिने, खाने सन्तुष्ट नहुने यो विचित्र पहेलीको उपचार हुन जरुरी छ । लोकतन्त्रले त्याग खोज्छ ।
लोकतन्त्रले के दियो ? भन्ने एकहोरो प्रश्न अब मिति सकिएको ओखतीजस्तै हो । प्रश्न लोकतन्त्रलाई नेपालीको सामथ्र्य बनाउन जनताको तहबाट हामीले कति योगदान गर्यौं भन्ने हो । यसै सन्दर्भमा भारतमा भएको एउटा घटना उल्लेख गर्नु यहाँ सान्दर्भिक ठर्हछ । जवाहरलाल नेहरु प्रधानमन्त्री भएका बखत बाढिपहिरोले त्यहाँको जनजीवन द्रवित भयो । राहत नपाएको झोंकमा असन्तुष्टि बढ्दै गयो । प्रधानमन्त्री नेहरु बाढिपहिरो प्रभावित क्षेत्रमा पुगे ।
उत्तेजित भीडले उनीविरुद्ध नाराजुलुस गरिरह्यो । त्यसमध्येको एउटा पीडितले नेहरुको गालामा चड्याम्म हान्दै भन्यो– तिम्रो लोकतन्त्रले मलाई के दियो ? नेहरुले संयमित हुँदै भने– ‘हो, मेरो लोकतन्त्रले तिमीलाई यही दियो, जसका कारण भारत स्वतन्त्रतापछि को पहिलो प्रधानमन्त्रीको गालामा हात पुर्याउने हिम्मत गर्न सक्यौ ।’ उत्तरकोरिया, बर्मा, इरान, इराक, अफगानिस्तानजस्ता मुलुक सम्झनुस् त जहाँ बोल्यो कि पोल्यो को अवस्था छ । दुखेपछि ऐया भन्न पाइने स्थिति छैन । आँखामा उर्लिएको आँसु आँखामै पचाउनुपर्ने अवस्था छ । भोक दबाउनुपर्ने बाध्यता छ । त्यसैले नबिर्सौं कुण्ठाभन्दा हार्दिक स्वतन्त्र जीवन उत्तम हो । त्यसैले लोकतन्त्रलाई छाडा हैन, विधिको साईजमा ढाल्नुपर्छ । गरिबको झुपडीमा त्यसको सुन्दर फूल फुल्नुपर्छ । त्यो बासनाले मात्र मेची महाकाली उपवन मगमगाउन सक्छ ।
प्रतिक्रिया