नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोनाविरुद्धको खोप अमेरिकाबाट ल्याउन कुटनीतिक पहल गर्न कम्युनिस्ट सरकारलाई सल्लाह दिएका छन् ।
कांग्रेस नेता थापाले बुधबार सामाजिक सञ्जालमार्फत खड्गप्रसाद ओली नेतृत्वको सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई कोरोनाविरुद्धको भ्याक्सिनका लागि पहल गर्न अनुरोध गरेका हुन् ।
अमेरिकले करीव ६ करोड डोज खोप सहयोगका रुपमा विभिन्न देशहरूलाई दिने भनेको छ । अमेरिकाले दिने भनेको खोप ल्याउनका लागि कुटनीतिक पहल गर्नुपर्ने थापाको भनाइ छ ।
‘अमेरिकी सरकारले करीब ६ करोड डोज बराबरको कोरोनाको खोप सहयोगका रूपमा विश्वव्यापी रूपमा प्रदान गर्ने भन्ने समाचार स्वागतयोग्य छ’, उनले भने, ‘अमेरिकी सहयोगले कोरोनाको पछिल्लो लहरले आक्रान्त पार्दै गरेको नेपाल लगायत दक्षिण एसियाका देशहरू लाभान्वित हुनेछन् भन्नेमा विश्वास राख्दछु ।’
‘नेपाल सरकारले केही समय अगाडि खोपका लागि अमेरिकी सरकारलाई सहयोग अनुरोध गरेको भन्दा अहिले खोपको उपलब्धताको सन्दर्भमा अमेरिकाको परिस्थिति भिन्न भएको छ’, नेता थापाले भनेका छन् ।
‘त्यस्तोमा नेपाल सरकारले त्यस्तो सहयोग नेपाल भित्र्याउन सम्पूर्ण पहल तत्काल शुरु गर्न आवश्यक रहेको छ’, कांग्रेस नेता थापाले भनेका छन् ।
नेता थापाले भनेका छन्, ‘परराष्ट्र मन्त्रीज्यूलाई अमेरिकाबाट खोप ल्याउने सन्दर्भमा सम्पूर्ण कुटनीतिक कौशल र ऊर्जा प्रयोग गर्नुहुन विनम्र अनुरोध गर्दछु ।’
‘नेपालका लागि अमेरिकी राजदूतावासले खोप ल्याउने विषयमा नेपालको अनुरोधलाई आफ्नो सरकारसम्म पुर्याउन आवश्यक पहलकदमी गर्छ भन्ने विश्वास लिएको छु’, कांग्रेसका युवा नेता थापाले भनेका छन् ।
ओली नेतृत्वको कम्युनिस्ट सरकारले कोरोना रोकथाम र उपचारमा लापरबाही गरेको भनेर आलोचना भइरहेका बेला थापाले अमेरिकाबाट निःशुल्क खोप ल्याउन पहल गर्न सुझाव दिएका हुन् ।
प्रतिक्रिया