Logo

प्रमुख समाचार

गठबन्धन कायम रहेको संकेत, केपी ओली यसरि झस्किए



बुधबार सम्पन्न भएको राष्ट्रियसभाको रिक्त १९ स्थानको निर्वाचन परिणामले हालको सत्ता गठबन्धनलाई कायमै राख्न संकेत गरेको छ । १९ स्थानका लागि भएको निर्वाचनमा एक स्थानमा बाहेक सबै स्थानमा गठबन्धनका उम्मेदवारहरु विजयी भएको अवस्थाले यो संकेत गरेको हो ।

गठबन्धनका उम्मेदवारहरुमध्ये १ नं. प्रदेशमा एक स्थानमा जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका हेमराज राईले पराजय भोग्नु परे पनि हालको गठबन्धनलाई असर पार्ने कार्य अन्य प्रदेशमा नभएको बुझाइ छ ।

१ नं. प्रदेशमा गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का बीचमा झिनो मतभारको अन्तर थियो । झिनो मतभार सत्तारुढ गठबन्धनको पक्षमा भए पनि त्यस प्रदेशमा गोप्य मतदानबाट फाइदा उठाउन एमालेले विभिन्न खेलहरु खेलेको आरोप लागेको छ ।

एमालेले आफ्ना उम्मेदवारहरुलाई विजयी गराउन राष्ट्रिय प्रजातन्त्र पार्टीको सहयोगदेखि विभिन्न जनप्रतिनिधिहरुसँग व्यक्तिगत रुपमा विभिन्न खालका अवैध आश्वासनहरु बाँड्दै गरेको भन्ने समाचारहरु पनि चुहिँदै गरेका थिए ।

सोही प्रदेशबाट आफ्नो राजनीतिक यात्रा गर्दै आएका एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले विभिन्न खेलहरु खेल्दै गरेको कुरा पनि चर्चामा आइरहेका थिए ।

थोरैमात्र मतभारको फरकमा रहेको अंकगणितलाई बदल्नका लागि ओलीले आपूm तथा आफ्ना विश्वासपात्रहरुलाई साम, दाम, दण्ड र भेदको नीति अख्तियारी गर्न लगाएको चर्चा चल्दै आएको थियो ।

गोप्य मतदान हुने भएकाले विभिन्न जनप्रतिनिधिहरुसँग एमालेका नेताहरुले भेटेर तथा फोन गरेर विभिन्न आश्वासन दिएको तथा कतिपयसँग त रकमको मोलमलाइ समेत गरिंदै आएको भनी समाचार स्रोतले दाबी गरेको छ ।

यसरी मतदान गर्दा गोप्यता कायमै रहने तथा राम्रो ‘अफर’ पनि प्राप्त भएका कारण केही जनप्रतिनिधि एमालेको यस खेलमा हड्डी चोख्याउन सफल भएको भनी समाचार स्रोतले बताएको छ ।

एमालेले विभिन्न प्रयास गर्दा पनि एमालेले सोचेजस्तो नतिजा यस प्रदेशबाट आउन नसकेको बताइएको छ । पहिले उम्मेदवार परिवर्तन गरी ओलीले आफ्ना अन्धभक्त मानिने गुरुप्रसाद बराललाई उम्मेदवार बनाएका थिए ।

उनको प्रतिस्पर्धा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका गोपाल बस्नेतसँग थियो । कांग्रेसका केही मतदाता व्यक्तिगत कारणले मतदानमा सहभागी हुन नसक्ने अवस्था जानकारीमा आइसकेको थियो ।

सोही आधारमा एमालेले केही मतदातालाई प्रभावित पार्न सफल हुँदा बराल र बस्नेतको मतभार बराबरी भएको थियो । उनीहरुले प्राप्त गरेको मत बराबर भएका कारण गोलाप्रथाबाट छनौट गर्नुपर्ने अवस्था आएको थियो ।

यस्तो हुँदा कांग्रेसका बस्नेतको भाग्य चम्किन पुग्यो भने एमालेका बराललाई भन्दा बढी चोट एमालेका अध्यक्ष ओलीलाई लाग्न पुग्यो । यसरी अरुको मत चोर्न सफल भएको एमालेले आफ्नै उम्मेदवारमाथि यस प्रदेशमा गद्दारी गरेको कुरा पनि चर्चामा आयो ।

एमालेका तर्फबाट उम्मेदवार बनेका शेर्पाले दलको मतभारभन्दा बढी मत पाएका थिए भने ४० प्रदेश सांसदमध्ये ३६ सांसदको मात्र मत एमालेका महिला उम्मेदवार सावित्री भण्डारीले पाएकी थिइन् ।

उनीमाथि एमालेकै प्रदेश सांसदहरुले अन्तर्घात गरेको चर्चा चलेको छ । गठबन्धनका उम्मेदवार हेमराज राईलाई हराउँदा जति खुशी एमालेका अध्यक्ष ओली भएका थिए त्यत्ति नै पीडा भण्डारीको हारमा हुन पुगेको चर्चा चलेको छ ।

जसपाबाट उम्मेदवार बनेका राईले आफ्नो प्रचार प्रसारमा खासै महत्व नदिएको तथा शेर्पा मतदाताहरुले गठबन्धनका उम्मेदवारलाई भन्दा पनि जातीय आधारलाई अलि बढी महत्व दिंदा शेर्पा विजयी बनेको चर्चा पनि चलेको छ ।

यसरी १ नं। प्रदेशमा एक स्थान जित्न सके पनि एमालेले १८ स्थानमा लज्जास्पद हार व्यहोर्नु परेको छ । एमालेले आफ्नो तर्फबाट गुमेका सिटहरुलाई पूर्ति गर्नका लागि राप्रपादेखि लोसपासम्मसँग हार गुहार गरेको थियो ।

हालको गठबन्धन टुटाउनका लागि मरिहत्ते गरेको एमालेले जति नै प्रयास गर्दा पनि मतदाताहरु हालको गठबन्धनकै पक्षमा देखिएका छन् । आफू हारेर भए पनि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारहरुलाई हराउने प्रयासमा लागेको एमालेले केही गर्न नसकेको अवस्था आइलागेको छ । यो निर्वाचन परिणामले एमालेका अध्यक्ष ओली झस्किएका छन् ।

उनले यो गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्न नदिने मनसाय राखी विभिन्न खेलहरु खेल्दै आए पनि गठबन्धन एक ढिक्का नै रहने संकेत देखिएको छ । यो संकेतबाट ओली तथा एमालेका नेता कार्यकर्ताहरु भने त्रसित बन्न पुगेका छन् ।

आगामी निर्वाचनहरुमा एमाले एकातिर तथा अरु दलहरु एकातिर बसी राख्ने अवस्था आएको खण्डमा एमालेको हार निश्चितप्रायः हुने बुझाइमा एमालेका नेताहरु पुग्न थालेका छन् ।

एमाले एक्लै चुनावमा जानुपर्ने अवस्था आएका खण्डमा उस्तै परे नेकपा (एकीकृत समाजवादी) भन्दा पनि तल पुग्ने त होइन भनी ओलीले आफ्ना निकटवर्तीहरुसँग बालकोटमा गम्भीर भएर मनन गर्न थालेको पनि समाचार स्रोतले दाबी गरेको छ । यो समाचार नयाँ विमर्शमा छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार १४:०४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।