नेपाली कांग्रेसले अक्सिजन आपूर्ति तथा आवश्यक शय्याको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । कांग्रेस कोभिड-१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले शनिवार विज्ञप्ति जारी गरी कोभिड-१९का बिरामी अस्पतालमा शैय्या तथा अक्सिजन नपाएर उपचारबाट वञ्चित भइरहेकालाई तत्काल शय्या र अक्सिजनको व्यवस्था गर्न माग गरेका हुन् ।
काठमाडौं उपत्यकाका कतिपय अस्पतालहरुले अक्सिजनको अभावका कारण अक्सिजन चाहिने कोभिड-१९ का बिरामीहरुलाई उपचार गर्न नसकिने अवस्था आएको सूचना जारी गर्न थालेका तथा यस्तो समस्या देशका अन्य भागहरुबाट पनि आउन थालेको स्मरण गराउँदै विज्ञप्तिमा सरकार भने कोभिड-१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील हुन नसकेको आरोप लगाइएको छ ।
सरकारले संक्रमितहरुको आवश्यकताअनुसार अस्पतालहरुको थप व्यवस्था र अक्सिजनको समुचित आपूर्ति गर्न नसकेको तर्फ ध्यानाकर्षण गराउँदै कांग्रेसले आवश्यकताअनुसार सरकारसँग देशका विभिन्न ठाउँहरुमा कोभिड-१९ उपचारका लागि अस्थायी अस्पतालहरुको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनिश्चितता गर्न माग गरेको छ ।
यस्तै अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न, कृतिम अभाव सृजना गर्नेहरुलाई तत्काल कारबाही गर्न र आवश्यकताअनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया