Logo

राजनीति

प्रधानमन्त्री ओलीको जालमा माधव नेपाल र महन्थ ठाकुर, ३० दिनमा सरकार ढल्छ !



विश्वासको मत पाउन नसकी पदमुक्त भएका खड्गप्रसाद ओलीले ७२ घण्डामै फेरि प्रधानमन्त्रीको नियुक्ति पाएका छन् ।

विहीबारको राति ९ बजेसम्मका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयावधिमा अन्य दलहरुले बहुमतको सरकारको दाबी गर्न नआएको अवस्थामा काम चलाउ प्रधानमन्त्री बनेका ओलीलाई नै ठूलो दलको संसदीय दलको नेताको रुपमा पुनः प्रधानमन्त्रीमा नियुक्ति गर्ने निर्णय राष्ट्रपति भण्डारीले गरिन् ।

ओलीलाई पुन नियुक्ति गरिए पनि उनले पद तथा गोपनीयताको शपथ भने शुक्रबार लिएका छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ (२) बमोजिमको सरकार निर्माणका लागि दलहरुलाई आफ्नो बहुमतको दाबी समेत आउन दिएको समयावधिमा उनीहरुले आफ्नो पक्षमा स्पष्ट बहुमत साबित गर्न नसकेको अवस्थामा ओलीलाई ७६ (३) बमोजिम प्रधानमन्त्रीमा नियुक्ति गरिएको जनाइएको छ ।

दिइएको समयमा अन्य दलहरुले आफ्नो दाबी पेश नगरेको अवस्थामा ओलीलाई नै सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्रीमा नियुक्ति गर्ने निर्णय भण्डारीले संविधानसम्मत रुपमा गरेकी हुन् ।

तोकिएको समयावधिभित्र अन्य दलहरुले आफ्नो पक्षमा बहुमत पु¥याउन विहीबार दिनभरी जसो प्रयास गरे पनि त्यसले सार्थकता पाउन सकेन ।

खासगरी नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको वातावरण बनाउने प्रयासमा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका उपेन्द्र यादव लागि परे पनि उनीहरुले आफ्नो पक्षमा बहुमत जुटाउन सकेनन् ।

दिनभरी अनेक खालका गतिविधि भैरहेका कारण कुनै पनि बेला कुनै पनि किसिमको समीकरण वा वातावरण बन्न सक्ने अवस्था देखिएको थियो ।

खासगरी जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विहानको करिब १० बजे नै पुगेको अवस्थालाई विश्लेषण गर्दै उनीहरु सशर्त कांग्रेसको नेतृत्वमा सरकार बनाउन तयार भएको समाचार आएको थियो ।

त्यसको लगत्तै उनीहरु आफू पक्षधर सांसद सहित भक्तपुरको सूर्यविनायकको एक रिसोर्टमा पुगी सांसदहरुलाई बन्दीजस्तो बनाउन सफल भएको खवर सनसनी रुपमा फैलियो ।

यता, देउवासँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वार्ता गरी सकारात्मक वातावरण बनाउन प्रयासरत रहने बताएका थिए । यसैगरी उपेन्द्र यादव पनि नियमित सम्पर्कमा रही आफू पक्षधर सांसदहरुलाई तयारी अवस्थामा बस्न भनिरहेका थिए ।

उता, सत्ता जोगाउनका लागि जस्तोसुकै निर्णयमा पुग्न तयारी अवस्थामा बसेका नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद ओली पनि राजनीतिक अवस्थाको विश्लेषण गर्दै आफूइतरका झलनाथ खनाल– माधवकुमार नेपाल पक्षधरलाई सांसदबाट राजीनामा नगर्ने वातावरण बनाउन अनेक खेल खेलिरहेका थिए ।

उनले अर्थमन्त्री विष्णु पौडेललाई नेता नेपालकोमा पठाई सहमतिको वातावरण खोज्न ओली तयार रहेको सन्देश दिइरहेका थिए भने नेता नेपाल चाहीँ आफू निकटका कानून व्यवसायीहरुसँग संविधानको व्यवस्थाको विषयमा परामर्श लिइरहेका थिए ।  

उनले तत्कालै राजीनामा गर्ने कि संविधानको धारा ७६(५) को संवैधानिक व्यवस्थाको बारेमा जानकारी लिइरहेका थिए । कानून व्यवसायीहरुले पनि अहिले राजीनामा दिएर पनि ओली बाहिरिने संभावना कमै रहेको कारणमा उपेन्द्र यादवले कुनै निर्णय गरेमा त्यसले मान्यता पाउने वा नपाउने भन्ने कुरा स्पष्ट नभएको स्थिति जानकारी गराइरहेका थिए ।

यस्तो अवस्थामा ओली नै ठूलो दलको नेताको रुपमा धारा ७६ (३) अनुसार प्रधानमन्त्री बन्ने तर उनले पनि ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेका कारण विश्वासको मत लिने समयसम्म पनि उनले आफूलाई सच्याएर खनाल–नेपाल समूहले भनेको नमानेमा उनलाई त्यो बेला पनि विश्वासको मत नदिई पदच्युत गर्न सकिने अवस्था बताएका थिए ।

त्यस्तो अवस्थामा धारा ७६ (५) अनुसारको सरकार गठनको बाटो खुल्ने जसमा दलीय समर्थन नभई सांसदको समर्थन मात्र भए पुग्ने अवस्था हुने भएकाले त्यो बेला ओली बाहेकको कुनै पनि सांसदलाई समर्थन गरी नयाँ प्रधानमन्त्री चुन्न सकिने तथा त्यसो गर्दा ओलीको बहिर्गमन पनि संवैधानिक रुपमा हुने भनी बुझाए पछि नेता नेपाल पनि सोचमग्न भएका थिए ।  

उनीहरुसँग संवाद चलिरहेका बेला नै प्रधानमन्त्री ओलीले नेता नेपाललाई फोन गरी वार्तामा बस्न भनी बोलाएका थिए । नेता नेपाल पनि वार्ताका लागि तयारी भई विवादास्पद व्यापारी रामेश्वर थापाको निजी निवास चपलीमा पुगी दिउँसो २ बजे वार्तामा बसेका थिए ।  

२० जना सांसदहरुको तयारी राजीनामा खल्तीमा हाली हिंडेका तथा दिउँसो ४ बजेसम्म आफ्ना निर्णयलाई सच्याउन भनी ओलीलार्ई समय दिएका नेता नेपाललाई जसरी पनि अल्मल्याउनु पर्ने बाध्यात्मक अवस्थामा ओली पुगेका थिए ।

राजीनामा दिनका लागि संसद सचिवालयको कार्यालय बेलुकी ५ बजेसम्म मात्र खुल्ने भएकाले चतुर स्वभावका ओलीले नेपालसँग मिठा मिठा कुरा गरी बेलुकी ६ बजेसम्म चपलीमै राख्न सफल भएका थिए ।

यता नेता नेपाललाई अल्मल्याउँदै गरेका ओलीलाई बल पुग्ने गरी भारतीय राजदूतावासको चलखेलमा जसपाका नेता महन्थ ठाकुर दिनभर दौडधूपमा रहेको कुरा बेलुकीतिर मात्र खुल्यो ।

भक्तपुरस्थित एक रिसोर्टमा ठाकुर र राजेन्द्र महतोले दूतावासबाट दिइएको एक बोरा रकम लिएर आफ्ना सांसदहरुलाई उक्त रिसोर्टमा मोजमस्तीमा रमाउन लगाइरहेको भन्ने कुरा बाहिर आइरहेको अवस्थामा महन्थ ठाकुर भने दिउँसोदेखि नै लैनचौरस्थित भारतीय दूताबासमा बसी भारतीय राजदूतबासले अह्राएको काम तामेली गर्न ब्यस्त रहेको भनी विभिन्न संचारमाध्यममा समाचारहरु आउन थालेका थिए ।

ओलीले नेता नेपाललाई अल्मल्याउन सफल भएको तथा कांग्रेस, माओवादी केन्द्र तथा जसपाकै उपेन्द्र यादव समूह समेत जसपाकै अर्को पक्षको सहमति नभएसम्म गठबन्धनको बहुमत पु¥याउन नसक्ने अवस्थामा पुगेको जानकारी पाएका ठाकुर साँझमा ओलीलाई प्रधानमन्त्रीको लागि अग्रीम शुभकामना दिन भनी भारतीय दूतावासबाट सोझै प्रधानमन्त्रीलाई भेट्न पुगेपछि भने दूताबासको चलखेल उदांगो भएको थियो ।

भारतीय दूतावासले आफ्नो इसारामा नाच्ने व्यक्तिलाई नेपालको प्रधानमन्त्रीमा राख्न चाहनुलाई स्वाभाविक मानिए पनि त्यसको लागि असली पात्र को बन्ला भन्ने कुरामा आम चासो पनि बढि रहेको थियो ।

गत वर्ष लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटेर नेपालको नक्सा जारी गराउने कार्यमा प्रधानमन्त्री ओलीको भूमिका प्रशंसायोग्य रहेको भनी राष्ट्रवादी खोल ओढ्न सफल भएका ओलीको भित्री खेल भने भारतीय जनता पार्टीका एक नेताले हालै ट्वीट गरेको एक धारणाले सार्वजनिक गरेको थियो ।

उनले भारतको लागि ओली नै उपयुक्त पात्र भएको भनी ट्वीट गरेका कारण यस पटक पनि ओलीकै पक्षमा भारतीय पक्ष खुल्ने संभावना बढेको थियो ।

अझ केही दिन पहिले नेपाल मामला हेर्ने जिम्मेदारी पाएका भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख नेपाल आर्ई भारतीय दूताबासमा डेरा जमाएर बसेका थिए । उनले दूताबासमै बसेर ओलीको इच्छामा महन्थ ठाकुर र राजेन्द्र महतोलाई परिचालन गरेको भनी विभिन्न समाचार स्रोतहरुले दाबी गर्दै आएका छन् ।

यस्तो अवस्थामा भारतीय दूताबासले फेरि पनि आफ्नो अनुकुलको सरकार गठन गरी नेपालको हितलाई भन्दा पनि भारतीय हितलाई प्राथमिकतामा राखी कार्य गराउने खतरा बढेको भनी बुद्धिजीवीहरु निरास बनेको अवस्था छ ।

उता, कांग्रेस–माओवादी र जसपाभित्रको उपेन्द्र यादव– बाबुराम भट्टराई समूहलाई वलीलाई सत्ताच्यूत गर्न जस्तो कदम चाल्न स्वीकार्य हुने भनी वचन दिएका माधवकुमार नेपालले अन्तिम समयमा आएर ओलीइतरको गठबन्धनलाई धोका दिएको चर्चा चलेको छ ।

‘कुमाईको घुमाइ’ भन्ने भनाइमा परेका नेता नेपाललाई ओलीले फेरि पनि ‘थाङ्नामा सुताउने’ भनी राजनीतिक वृत्तमा चर्चा भने चलिरहेको छ ।

ओलीले नेता नेपाललाई अहिले फकाउन लाग्नुमा आफ्नो सत्ता टिकाउनु चाहनु मात्र नभई आगामी जेठ ६ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा रामबहादुर थापालाई निर्वाचित गराउने वातावरण पनि बनाउनु रहेको समाचार स्रोतले दाबी गरेको छ ।

यही कुरालाई बुझेर नेता नेपालले पनि ‘आफूहरुको राजीनामा दुई चार दिनका लागि टरेको’ भनेका छन् । उक्त निर्वाचन अगावै ओलीसँग प्रष्ट पार्न चाहना नेता नेपालले लिए पनि ओलीले त्यो समय गुजारेर मात्र आफ्ना वास्तविक रुप नेता नेपाललाई देखाउने संभावना बढको पनि समाचार स्रोतले बताएको छ ।

यसरी विहीबारको राजनीतिक घटनाक्रमलाई हेर्दा बिगतमा देखिएका संसदीय तथा दलीय नाजायज गतिविधि अहिले पनि देख्न थालिएको अवस्था भनी अधिवक्ता भूवन डोटेल तिक्तता व्यक्त गर्दछन् ।

यो समाचार आजको नयाँ विमर्श साप्ताहिकमा छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार ०७:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।