Logo

राजनीति

गण्डकी प्रदेशका ४ मन्त्रीले लिए सपथ, मनाङे आएनन



पोखरा : गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलेकै मन्त्रीलाई नियुक्त गरेसँगै प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् ।मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुखले आज ४ जनालाई सपथ खुवाएकी हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङसँगै थप ३ मन्त्रीले सपथ ग्रहण गरेका हुन् । रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले बिना विभागीय मन्त्रीका रुपमा सपथ खाएका छन् । मन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) भने सपथमा सहभागी भएनन् । उनी काठमडौं भएकाले आउन नपाएका हुन् ।

वैशाख २६ मा राजीनामा दिएका मुख्यमन्त्री गुरुङ २९ गने पुन नियुक्त भएका थिए । कोरोनाले आइसोलेसनमै रहेका कारण मन्त्रिमण्डल विस्तारमा बिलम्ब भएको थियो ।

मन्त्रिमण्डल विस्तारसँगै मुख्यमन्त्रीले प्रदेशमा मन्त्रालय थप्ने भएका छन् । सत्ता टिकाउनका लागि सामाजिक विकास मन्त्रालय फुटाएर राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्तीमा १० वटा मन्त्रालय बनाउने भएका छन् । हाल प्रदेशमा ८ मन्त्रालय छन् ।

त्यसो त यही आर्थिक वर्षको सुरुमा नै उनी मन्त्रालय फुटाउने र कार्य प्रगतिका आधारमा मन्त्री पनि फेर्ने सोचमा थिए । पार्टीका केन्द्रमा व्याप्त विवादले उनको योजना पूरा हुन सकेको थिएन ।

सामाजिक विकास मन्त्रालय फुटाइसकेका उनले अब उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर कम्तीमा १० वटा मन्त्रालय पुर्याउन लागेका हुन् ।

आजै बस्ने मन्त्रीपरिषद बैठकले मन्त्रालयको टुंगो लगाउने र जिम्मेवारीसमेत बाँडफाँट गर्ने भएको स्रोतले बताएको छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०७८ बुधबार  ३ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।