काठमाडौं । वाग्मतीमा बिहीबार हुने राष्ट्रिय सभा सदस्यका लागि हुने उपनिर्वाचनमा सहभागी हुने मतदाताले ७२ घण्टाभित्रको कारोना परीक्षण देखाउनुपर्ने अथवा नदेखाए पनि हुने भन्ने विषयले अन्योलता सिर्जना गरेको छ ।
निर्वाचन आयोगले यसअघि उपनिर्वाचनका मतदातालाई पीसीआर रिपोर्ट अनिवार्य गरेको हुनुपर्ने बताएको थियो । बुधबार मतदानस्थल हेटौंडा–४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालयमा तीनै जना उम्मेदवारका प्रतिनिधिहरुले सबै मतदाताले पीसीआर परीक्षण गर्न नपाएको र कतिपय स्थानीय तह विकट रहेकाले पीसीआर गर्न सम्भव नरहेको भन्दै परीक्षण नगरेका मतदातालाई पनि निर्वाचनमा सहभागी गराउन माग गरेका थिए ।
उम्मेदवारका प्रतिनिधिहरुको साझा माग अनुसार मतदानका लागि मतदाताको पीसीआर रिपोर्ट अनिवार्य नगरेको राष्ट्रियसभा उपनिर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । वाग्मती प्रदेशका केही स्थानीय तहमा कोरोना परीक्षणका लागि प्रयोग हुने भिटिएम किट नै नपुगेको र अधिकांश मतदाताले कोरोना परीक्षण गर्न नभ्याएकाले उनीहरुलाई संवैधानिक अधिकारबाट वञ्चित गर्न नहुने उम्मेदवारका प्रतिनिधिहरुको भनाइ थियो । निर्वाचन अधिकृत श्रेष्ठले निर्वाचन आयोगका आयुक्त सँगको मौखिक छलफल अनुसार पीसीआर रिपोर्ट अनिवार्य नगरेको बताए ।
‘निर्वाचन आयोगले निर्वाचनमा सहभागि हुने सबै मतदातालाई ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य गरेको भए पनि मतदाताको संवैधानिक अधिकारबाट वञ्चित गर्न मिल्दैन,” उनले भने । पीसीआर परीक्षण नगरेका मतदातालाई छुट्टै लाइनबाट मतदानमा सहभागी गराइने उनले बताए । श्रेष्ठका अनुसार निर्वाचनका क्रममा मतदान कक्षमा मोबाइल, क्यामेराजस्ता विद्युतीय सामग्री प्रयोग गर्न रोक लगाइएको छ ।
मतदानलाई गोप्य बनाउन र विश्वसनीयता प्रदान गर्न मतदानमा सहयोगी प्रयोग गर्न नपाइने व्यवस्था पनि गरिएको उनले जानकारी दिए । निर्वाचन अधिकृत श्रेष्ठका अनुसार बिहीबार हुने निर्वाचनमा तीनवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
वाग्मती प्रदेशसभाका सदस्य र प्रदेशका ११९ वटा स्थानीय तहका अध्यक्ष र उपाध्यक्षका लागि छुट्टा छुट्टै मतदान केन्द्र बनाइएको छ । कोरोना संक्रमितहरुका लागि भने मतदानस्थलको उत्तरतर्फको गेटबाट प्रवेश गरी छुट्टै मतदान केन्द्रमा मत दिने व्यवस्था गरिएको उनले बताए ।
कोभिड संक्रमण नदेखिएका प्रदेशसभा सदस्यलाई मतदान केन्द्र ‘क’ मा, पालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षलाई ‘ख’ मा र कोरोना संक्रमण देखिएकालाई ‘ग’ मा मतदान गर्ने व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको छ । पीसीआर रिपोर्ट नेगेटिभ भएका कर्मचारी र सुरक्षाकर्मीलाई मात्रै मतदान र गणना केन्द्रमा खटाइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
राष्ट्रिय सभाको वाग्मती प्रदेशतर्फ रिक्त सदस्य पदमा सत्तारूढ एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र माओवादी केन्द्रको प्रस्ताव र नेपाली कांग्रेसको समर्थनमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङले प्रतिस्पर्धा गर्दै छन् ।
प्रतिक्रिया