काठमाडौं । राष्ट्रिय सभा सदस्य चयनका लागि बागमती प्रदेश (हेटौंडा) मा मतदान भइरहेका बेला नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ ।
बैठक बिहीबार दिउँसो २ बजे बस्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरलले दिउँसो २ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल समूहसँग वार्ता गर्न गठित वार्ता टोलीले रिपोर्टिङ गर्ने जनाइएको छ ।
त्यस्तै राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा स्थयी कमिटी सदस्य रामबहादुर थापा बादललाई माधव पक्षले गरेको असहयोगको बारेमा समेत समीक्षा हुने बताइएको छ ।
बैठकका अन्य एजेण्डाबारे केही बताइएको छैन । राष्ट्रिय सभाका सदस्यका लागि नेकपा एमालेबाट पूर्वमाओवादी नेता बादल चुनावी मैदानमा रहेका छन् । उनका प्रतिस्पर्धीको रुपमा माधव नेपाल समूह निकट नेता खिमलाल देवकोटा चुनावी मैदानमा छन् ।
ओलीले बुधबार आचारसंहिता उल्लंघन गर्दै बादललाई मतदान गर्न निर्देशन जारी गरेका थिए ।
प्रतिक्रिया