काठमाडौं । मुलुक कोरोना महामारीको दोस्रो लहरले आक्रान्त भइरहेको समयमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रतिपक्षीहरुले आलोचना गरिरहेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् ।
१५ बुँदे ध्यानाकर्षण पत्रमा सभापति देउवाले प्रधानमन्त्री ओलीलाई तत्काल कोरोनाविरुद्धको खोप ल्याउने सुनिश्चितता गर्न आग्रह गरेका छन् । संक्रमितको उपचार गर्न मुलुकको स्वास्थ्य प्रणालीले धान्न नसक्ने स्थिति सिर्जना भइसकेका कारण सरकार गम्भीर बनेर जिम्मेवारी बहन गर्नपर्नेतर्फ सभापति देउवाले प्रधामन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् ।
ध्यानार्षणपत्रमा लेखिएको छ, “नेपाली कांग्रेस जनताको दु:ख कम गर्न पहिलो चरणको संक्रमणको बेलामा जस्तै अहिले पनि सक्रिय छ । तर, सरकारसँग राज्यको साधन, स्रोत र संयन्त्र छ । हामीले त्यसको पूर्ति गर्नसक्ने कुरा भएन। यो अवस्थामा हामी फेरि पनि सरकारलाई यो संकटलाई रोक्न गम्भीर भएर काम गर्न माग गर्दछौं । नेपाली कांग्रेसले कोभिड-१९ को संक्रमण रोकथाम र उपचारका लागि बृहत कार्ययोजना सहित निम्न कार्य गर्न सम्माननीय प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गर्दछ ।”
देशभर हाल जम्मा संक्रमितको संख्या चार लाख ८० हजारभन्दा बढी पुगेको छ भने मृत्यु हुनेको संख्या पनि पाँच हजार ६५७ पुगेको छ । हाल कुल परीक्षण गरिएकामध्ये ३९ प्रतिशतमा कोरोना भाइरसको संक्रमण देखिन थालेको छ ।
प्रतिक्रिया