Logo

राजनीति

सरकार र जसपाबीच संविधान संशोधन गर्न बनेको कार्यदलमा को-को छन् ?



प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसवादी दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर समूहलाई फकाउनका लागि संविधान संशोधन कार्यदल गठन गरेका छन् । जसपाले सुरुदेखि भन्दै आएको संविधान संशोधनको कट्टर विरोधी रहेका ओली हाल आफ्नो पद जोगाउनका लागि संशोधन गर्न तयार देखिएका हुन् । 

उनले बिहीबार राति महन्थ ठाकुर र राजेन्द्र महतोसँगको छलफलपछि संविधान संशोधन कार्यदल गठन गरेको जसपा अध्यक्ष ठाकुरले जानकारी दिएका छन् । उनका अनुसार संविधान संशोधनको गृहकार्य गर्न पाँच सदस्यीय कार्यदल बनाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादीको महन्थ ठाकुर पक्षबीच सहमति भएको हो । 

कार्यदलमा जसपाका तर्फबाट नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन् भने सरकारी पक्षबाट अग्‍नी खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल छन् । जनता समाजवादी पार्टीले उठाएका मुद्दाका विषयमा उक्त कार्यदलमा छलफल हुने बताइएको छ । 

संविधान संशोधन, नागरिकता लगायतका विषयलाई कार्यदलले टुंगो लागाउने ठाकुरले बताएका छन् । 

यससँगै जसपाको महन्थ र राजेन्द्र समूहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता सहकार्य गरेर जाने सहमति गरेको जनाइएको छ । ओलीले पनि सत्ता टिकाउनकै लागि संविधान संशोधन गर्न कार्यदल बनाउने सहमति गरेको बताइएको छ । 

तर, जसपाका अर्का अध्यक्षसमेत रहेका उपेन्द्र यादव भने विपक्षी गठबन्धनसँगको छलफलमा रहेका छन् । यादव कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भइरहेको छलफलमा जुटेका छन् ।

प्रकाशित मिति : जेष्ठ ७, २०७८ शुक्रबार  १ : २५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।