माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्रीमा आफूहरुको समर्थन काँग्रेस सभापति शेरबहादुर देउवालाई रहेको जानकारी दिन देउवासँगै शुक्रबार शीतलनिवास पुगेका थिए ।
भित्र राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको भेटघाट चलिरहेकाले विपक्षी गठबन्धनका नेताहरुले बाहिर लामै समय कुर्नुपर्यो । ओली बाहिरिएपछि उनीहरुको पालो आयो । त्यस क्रममा प्रचण्डले राष्ट्रपतिले बहुमत सदस्यको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरिएकाले दायाँबायाँ नगर्न चेतावनी दिए ।
संविधानको धारा ७६ ९५० अनुसार राष्ट्रपतिबाट सरकार गठनको आह्वान भएको र उक्त धारा अन्गर्गत बन्ने सरकार कुनै दलको नभई बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यको नेतृत्वमा बन्ने प्रचण्डे बताए । यस्तोमा दलको पत्रले नभई सांसदको हस्ताक्षरका आधारमा बहुमत भए÷नभएको निक्र्यौल हुने उनको भनाइ थियो । आफूहरु बहुमत सांसदको हस्ताक्षरसहित आएकाले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरे ।
‘बहुमत सांसदको हस्ताक्षरसहित माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरिएको छ’, प्रचण्डले भने, ‘दायाँबायाँ नगरी सहज रुपमा उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गरियोस् ।’
उनले कानूनी र संवैधानिक व्यवस्थाको पालना गर्न भन्दै राष्ट्रपतिलाई परिस्थितिलाई जटिलतातिर लाने काम नगर्न चेतावनी दिए । प्रचण्डलगत्तै बोलेका एमाले वरिष्ठ नेता नेपालले पनि संसदमा कायम सदस्य संख्याको बहुमतको समर्थन देउवालाई रहको बताए ।
उनले बहुमतको समर्थन प्राप्त देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरिए मुलुकमा असहज परिस्थिति उत्पन्न हुने उल्लेख गरे । ‘बहुमत सांसदको हस्ताक्षरसहित जो आएको छ, उसलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गरिनुपर्छ’, नेपालको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, ‘राष्ट्रपतिको मर्यादा कायम गर्नुस्, मुलुकलाई योभन्दा जटिलतातिर लाने काममा नलाग्नुस् ।’
यसैबीच राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीले पनि बहुमत सांसदको समर्थनसहित दाबी पेस गरेको बताएपछि प्रचण्ड र नेपाल झोक्किएका थिए ।
नेकपा (एमाले) का नेता माधव कुमार नेपालले शितलनिवासले संविधानको मर्मलाई कुठाराघात गरेको टिप्पणी गरेका छन् । उनले षड्यन्त्रकारीहरुको उक्साहट र चाहनामा फेरि पनि संसदको चीरहरण भएको बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत नेता नेपालले नेपालमा प्रतिगमन दोहोरिएको बताएका छन् ।
उनले लेखेका छन्-“षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो ।
यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु १”
प्रतिक्रिया