काठमाडौं । वाग्मती प्रदेशमा जेठ ६ गते भएको राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउन भूमिका खेल्ने पार्टीका १४ सांसद्लाई कारबाही गर्न प्रक्रिया अघि बढाइएको छ ।
वाग्मती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा शनिबार बसेको संसदीय बोर्डको बैठकले अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेसहित १४ जनासँग २४ घण्टे स्पष्टिकरण माग्ने निर्णय गरेको हो । आफ्नै पार्टीका उम्मेवारलाई पराजित गर्न अगुवाई गरेको भन्दै १४ जना प्रदेश सभा सदस्यलाई आइतबार साँझ ५ बजेसम्म स्पष्टिकरण पेश गर्न भनिएको छ ।
लामो समयदेखि संसदीय दल, पार्टी र दलको नेता तथा सरकारविरुद्ध गतिविधि गरेको र चुनावमा पार्टीलाई हराउन भूमिका खेलेको कारण कारबाही किन नगर्ने भनी स्पष्टिकरण माग गरिएको छ ।
स्पष्टिकरण सोधिएका प्रदेशसभा सदस्यहरु माधव नेपाल समूहका नेता अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र अरुण नेपालसहित १४ जना छन् । प्रदेशसभामा ५६ जना एमाले सांसदमध्ये माधव पक्षमा २१ जना थिए ।
संसदीय बोर्डका सदस्य अष्टलक्ष्मी शाक्य,राजेन्द्र पाण्डे र अरुण नेपालसहित १४ जना सदस्यले पार्टीविरुद्ध गतिबिधि गरेको आरोप लगाइएको छ । बोर्ड बैठकमा तीनै जना नेता उपस्थित थिएनन् । नेपाल समूहका ती सांसद्ले विपक्षी गठबन्धनका साझा उम्मेदवार खिमलाल देवकोटालाई मत दिएका थिए ।
राष्ट्रिय सभाको निर्वाचनमा देवकोटाले बादललाई पराजित गर्दै जित हात पारेका हुन् ।
कारबाहीको प्रक्रिया अघि बढाइएका सांसद्हरुको सूची :
१. अष्टलक्ष्मी शाक्य
२. राजेन्द्रप्रसाद पाण्डे
३. अरुणप्रसाद नेपाल
४. बसन्तकुमार मानन्धर
५. रचना खड्का
६. कृष्णाप्रसाद शर्मा खनाल
७. शान्तिप्रसाद पौडेल
८. मुनु सिग्देल
९. इन्द्रमाया गुरुङ
१०. मिना ज्ञवाली
११. बसुन्धरा हुमागाँई
१२. लक्ष्मण लम्साल
१३. कुसुमकुमार कार्की
१४. पार्वती सिलवाल
प्रतिक्रिया