Logo

राजनीति

ओलीको निर्देशनपछि आयोगले भन्‍यो – तोकिएको मितिभित्रै चुनाव गराउन सकिन्छ 



राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दै निर्वाचन घोषणा गरेपछि प्रधामन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरुलाई बालुवाटार बोलाएर छलफल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार प्रमुख आयुक्त र आयुक्तहरुसँग निर्वाचन गर्न सकिने-नसकिने र जटिलताका विषयमा छलफल गरेका छन् । 

निर्वाचन अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतर्फ अघि बढेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् । प्रमुख आयुक्त र आयुक्तहरुले पनि प्रधानमन्त्री ओलीलाई सरकारले तोकेको मितिभित्रै निर्वाचन गराउन सकिने जानकारी गराएका हुन् । आयोगका पदाधिकारीले निर्वाचनको तयारीका लागि १२० चाहिने भएको र  अहिले तोकिएको समयभित्रै सबै तयारी गर्न सकिने बताएका छन् । 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन मिति तोकेकी छन् ।  निर्वाचन सम्बन्धी ऐनमा निर्वाचनका लागि १२० कार्य दिन तोकिएको छ । निर्वाचनका लागि गर्नुपर्ने सबै तयारी सकिने भन्ने परिकल्पनाअनुसार १२० कार्य दिन तोकिएको हो ।

यद्यपि निर्वाचन सम्बन्धी केही कानुन संशोधन गर्नु पर्ने जानकारी आयोगका पदाधिकारीहरुले प्रधानमन्त्रीलाई गराएका थिए । केन्द्र, प्रदेश र स्थानीय तहका लागि छुट्टाछुट्टै कानुन भए पनि धेरैजसो बुँदाहरु दोहोरिएकाले त्यसलाई मिलाउनुपर्ने आवश्यकता उनीहरुले औंल्याएका थिए ।

प्रधानमन्त्री ओलीले कानुनी, आर्थिक र कर्मचारी व्यवस्थापन लगायतका सबै तयारी गर्न आग्रह गर्दै त्यसमा सरकारको पूर्ण साथ रहने बताएका थिए । 

प्रकाशित मिति : जेष्ठ ८, २०७८ शनिबार  ३ : २६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।