निर्वाचन आयोगले आगामी कात्तिक २६ गते र मंसिर ३ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सरकारलाई सुझाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेलगत्तै आयोगका पदाधिकारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शनिबार भएको छलफलमा व्यवस्थापन सहजताका लागि एकै चरणमा निर्वाचन गर्न सुझाइएको हो। निर्वाचन मिति घोषणालगत्तै प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूलाई बोलाएर छलफल गरेका हुन्।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैको दाबी नपुगेको निर्णय गरेपछि शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा निर्वाचनको घोषणा गर्न सिफारिस गरेको थियो। राष्ट्रपतिले पनि सरकारको सिफारिसअनुसार नै प्रतिनिधिसभा विघटन गरी दुई चरणमा निर्वाचनको मिति घोषणा गरेकी थिइन्।
प्रधानमन्त्रीसँगको छलफलबारे जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले सरकारले निर्वाचन मिति तोकेपछि त्यसलाई सम्पन्न गर्नु आयोगको संवैधानिक दायित्व भएकाले तयारीका लागि पर्याप्त समय रहेको स्पष्ट पारे। ‘निर्वाचन घोषणा भएको छ, तोकिएकै समयमा सम्पन्न गर्नेगरी तयारी अघि बढाउनुस्, के–के आवश्यक पर्छ, भोलिदेखि नै काम थाल्नुस् भनी प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभयो,’ थपलियाले नागरिकसँग भने, ‘सरकारले निर्वाचनको मिति घोषणा गरेपछि त्यसलाई सम्पन्न गर्नु आयोगको संवैधानिक दायित्व पनि हो। आयोगसँग पर्याप्त समय पनि छ। हामीले व्यवस्थापनमा सहज हुने भएकाले एकै चरणमा निर्वाचन गरौं भनेका छौं।’
प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार भएको छलफलबारे जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले निर्वाचन मिति तोकेपछि त्यसलाई सम्पन्न गर्नु आयोगको वैधानिक दायित्व भएकाले तयारीका लागि पर्याप्त समय रहेको स्पष्ट पारे।
थपलियाले सरकारलाई शान्तिसुरक्षा व्यवस्थापनमा सहज हुन्छ भने एकै चरणमा निर्वाचन गर्दा तयारी, प्रचारप्रसार र अन्य व्यवस्थापनमा आयोगलाई सहज हुने बताए। त्यसबाहेक निर्वाचनका लागि कानुनी तथा नीतिगत व्यवस्थापन, आर्थिक व्यवस्थापन र कोभिड–१९ को स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर निर्वाचन कार्यक्रम सम्पन्न गर्ने विषयमा समेत छलफल भएको उनले बताए। उनले अब आयोगले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न आइतबारदेखि नै तयारी सुरु गर्नेसमेत जानकारी दिए।
प्रधानमन्त्रीसँगको भेटमा आयोगका पदाधिकारीहरूले निर्वाचनका लागि राजनीतिक वातावरण मिलाउनुपर्ने, शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने, कोरोना नियन्त्रण र स्वास्थ्य सतर्कता मापदण्ड तयारी गरी पालना गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले समयमै बजेट दिए आयोगलाई निर्वाचन तयारीमा सहज हुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए। जबाफमा प्रधानमन्त्री ओलीले जुनसुकै हालतमा पनि तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने र त्यसका लागि सबै व्यवस्थापन गर्न सरकार तयार रहेको विश्वास दिलाए। ‘प्रधानमन्त्रीले तोकिएकै मितिमा निर्वाचन हुने र त्यसका लागि सरकारबाट शान्तिसुरक्षा, बजेटलगायत सबैखाले स्रोतसाधन उपलब्ध गराउने विश्वास दिनुभएको छ,’ प्रमुख आयुक्त थपलियाले भने। नागरिक दैनिकमा खबर छ।
प्रतिक्रिया