Logo

प्रमुख समाचार

नेपाली बालसाहित्यमा अनुवादको बाली



नेपाली बालसाहित्यमा अनुवादको इतिहास करिब आधा शताब्दीको छ । वास्तमा, नेपाली वाङ्मयमा लेख्यरूपमा बालसाहित्यको उदय नै अन्य भाषाका बालसाहित्यको अनुवादसँगै भएको हो । पाठ्यपुस्तकको आवश्यकता पूरा गर्ने हेतुले वि.स. १९४८ मा गङ्गाधार द्रविडले निर्माण गरेको पुस्तक गोर्खा पैह्लो किताब (प्रथम भाग) तयार गर्दा केही अन्य भाषाका सामग्रीको अनुवाद त्यस पुस्तकमा समावेश गरेको, र केही मौलिक कृतिहरूलाई स्थान दिएको अनुसन्धानहरूमा देखिन्छ । धर्मशास्त्रबाट अथवा नीतिकथाका अन्य श्रोतबाट कथाहरू बालबालिकाका लागि अनुकूलित गर्ने परम्परा थियो । त्यस बखत प्रकाशित गरिएका पुस्तकको सूची हेर्दा पनि यस्तो अनुमान गर्ने प्रशस्त ठाउँहरू छन् । साहत्यिकार तेजप्रकाश श्रेष्ठ लेख्छन्, “यस कालका उल्लेख्य स्रटाहरू हुन्— गङ्गाप्रसाद शास्त्री (गोर्खा पैह्लो किताब, १९४९ र सर्वसङ्ग्रह, १९५३), जयपृथ्वीबहादुर सिंह (अक्षराङ्क शिक्षा र बालबोध शिक्षा खण्ड १, १९८५), चक्रपाणी चालिसे (सङ्क्षिप्त रामायाण, १९७२, बोधविक्रम अधिकारी (नेपाली दन्त्यकथा) १९९६) आदि ।” (२९) । यी शीर्षकहरूबाटै यस चरणका पुस्तकमा मौलिक रचनाभन्दा पनि अनुकूलित र अनुदित बालसाहित्यको बाहुल्य थियो भन्ने कुरा प्रष्ट हुन्छ ।

नेपाली भाषामा विशुद्ध र पाठ्येत्तर बालसाहित्य पनि अनुवादकै बाटोबाट प्रवेश गरेको देखिन्छ । बालसाहित्यको विकासको पहिलो चरण मानिने वि.सं. १९४९ देखि १९९९ सम्मको कालावधिमा बालसाहित्यको रूपमा अङ्ग्रेजीलगायतका अन्य विश्वभाषा — जस्तै संस्कृत, रुसी, जापानी, चिनिया, हिन्दी आदि — बाट नेपालीमा अनुवाद गरिएका पुस्तकहरूको प्रकाशन नै महत्वपूर्ण रहेको देखिन्छ । यसमा हान्स क्रिस्टन एन्डर्सनको मीठो गीत गाउने चराको विषयमा, (१९६७) यसरी अनुदित भएर आउने पहिलो पुस्तक हो, जसलाई पादरी गङ्गाप्रसाद प्रधानले दार्जिलिङबाट प्रकाशित गरेका थिए । प्रमोद पधान लेख्छन्, “पादरी गङ्गाप्रसाद प्रधान स्वयम्ले र मिस गोलेनसँग मिलेर अनुवाद गरेका यस्ता पुस्तकहरूमा मीठो गीत गाउने चराको विषयमा (१९६७), हाँसको नराम्रो चल्लाको कथाहा (१९७१), एक बतौरे साथी (१९७३), मान्छे माछाको कथाहा (१९७७), र सुनौलो कथाको पुस्तक (१९७९) हुन्” (५) ।

यसरी करिब एक शताब्दी लामो इतिहास बोकेको नेपाली साहित्यको अनुवाद पक्षको एउटा साङ्गोपाङ्गो रेखाङ्कन गर्ने कोशिस यस आलेखमा गरिएको छ । बालसाहित्यमा अनुवादको प्रश्नको सैद्धान्तिक आधार, यससँग जोडिएको जटिलताको विवेचना तथा नेपाली बालसाहित्यको अनुवादपक्षको सिंहावलोकन यस आलेखका आयामहरू हुन् । यसो गर्दा, प्रकाशित सबै पुस्तकलाई यहाँ समेटिएको छैन । मोटामोटी सङ्केत, र प्रतिनिधिमूलक पुस्कतहरूको सूची तयार गरिएको छ । तर, विविध भाषाबाट नेपालीमा र नपालका पनि अनेकन भाषाबाट नेपाली हुँदै अन्य भाषामा अनूदित कृतिहरूको सूची पनि विशाल भएका हुँदा, अन्य भाषाबाट नेपालीमा अनुवाद गरिएको बालसाहित्यलाई प्रतिनिधिमूलक रूपमा मूल्याङ्कन गरिएको छ ।

प्रौढ साहित्यमा देखिने अनुवादका जटिलता बालसाहित्यमा पनि देखिन्छन् । फरक यत्ति हो, बालसाहित्यमा लक्षित सुमदायको बालसुलभ भाषाको ज्ञान अनुवादकमा हुनु जरुरी हुन्छ, जुन त्यति सजिलो हुँदैन । अनुवादका लागि प्रयोग गरिने भाषा, अधिकांश अवस्थमा एउटा अनुवादकले पुस्तकबाट टिपेको हुन्छ, तर जमिनमा, लक्ष्य भाषाका बालबालिकाले प्रयोग गर्ने भाषा फरक हुन सक्छ । शब्दकोशहरू पनि, अधिकांश अवस्थामा वयस्कहरूकै भाषाको जगमा बनेका हुन्छन् । त्यसैले, यस समस्यलाई चिर्न बालभाषाको व्यवहारिक ज्ञान जरुरी हुन्छ । भारतीय अनुवादक सरला जग मोहनको अवधारणलाई उद्धृत गर्दे एन. झा भन्छन्, “पौढ साहित्यमा शब्दसँग खूब खेल्न सकिन्छ, जुन बालसाहित्यमा सकिँदैन ।”

श्रोत र लक्ष्य भाषा बोल्ने समुदायबीचको सांस्कृतिक बेमेल बालसाहित्यको अनुवादको अर्को जटिलता हो । अन्य भषाबाट नेपालीमा, अथवा नेपालीबाट अन्य भाषाका अनुदित बालसाहित्य हेर्दा नेपाली भाषाको विनिमय संस्कृत, चिनिया, जापानी, रुसी र अङ्ग्रेजी भाषामा बढी भएको पाइन्छ । संस्कृत र नेपालीबीच सांस्कृतिक भिन्नता निकै कम होला, तर अन्य भाषा बोलिने मुलक र नेपालबीचको सांस्कृतिक भिन्नता ठूलो छ । भिन्न संस्कृतिबीच अनुवाद आदानप्रदान गर्दा आइपर्ने समस्याबारे साइन एन. भन्छन्, “यो सम्भव छ कि उनीहरूको बालसाहित्यका लागि अपरिचित विधाहरू भित्र्याउने कामप्रति कतिपय संस्कृतिहरू अनुदार हुन्छन् । यो पनि सम्भव छ कि आयातित विधालाई ती संस्कृतिले आफ्नै पाराले व्याख्यातित गरिदिन्छन् र अपरिचित विधाको प्रवेशलाई निरुत्साहित गरिदिन्छन् ।” (१९७८ः ११९)

जी. क्लिङबर्गले त “बालसाहित्य क्षेत्र” को पनि कल्पना गरेका छन्, जसमा, उनकै शब्दमा “देशहरूको एउटा समूह हुन्छ, जसमा अनुदित बालसाहित्यको श्रोतका सम्बन्धमा केही समान प्रवृत्तिहरू हुन्छन्” (१९७८ः ८९) । यस्ता समूहहरूको गठन ऐतिहासिक र सांस्कृतिक समानताका कारण हुने हो, जसको प्रभाव श्रोत र अनुदित दुवै भाषाहरूमा पर्न जान्छ । एउटै समूहभित्र मौलिक र अनूदित बालसाहित्यमा उस्तै प्रवृत्ति देखिन्छन्, र एउटै क्षेत्रभित्रको साहित्य अनुवाद गरिने सम्भावना बढी हुन्छ । यस कुराले कुनकुन पुस्तक अनुदित हुने र कुन नहुने भन्ने कुरा पनि निर्धारण गर्दछ ।

अर्को पनि एउटा व्यवहारिक जटिलता छ, बालसाहित्यको अनुवादको हकमा । बालसाहित्य नै किन नहोस्, त्यसलाई वयस्क अनुवादकहरूले नै अनुवाद गर्छन् । त्यस बेला, तिनीहरूले आफैँमा बालबिम्ब जति नै ल्याउन खोजे पनि उनीहरूमा प्रौढहरूमा स्वाभाविक रूपमा हुने अवधारणा र आग्रहको प्रभाव हुन्छन् । रिट्टा आइटिनेने भन्छिन्, “बालबिम्ब एउटा निकै जटिल विषय हो । एकातिर यो आफैँमा एक विशिष्टकुरा हो, जुन व्यक्तिको निजी इतिहासमा आधारित हुन्छ । अर्कोतिर, सबै समाजेमा यो एक सर्वजनिन विषय पनि हो ।” (२१)

अनुवादको प्रक्रियासँगै जोडिएर आउनु सास्ंकृति बेमेलका समस्या, समानान्तर शब्द, अर्थ वा अवधारणाको कमी, परिवेशको विविधता तथा शब्द सङ्ख्या र शब्दशक्तिको वैविद्यबाट आउने जटिलता त छँदै छन् । तर पनि, कसै न कसैले, कुनै न कुनै मोडमा अलिकति जोखिम नउठाउने हो भने, र अनुवादमा अनिवार्यतः आइपर्ने धेरथोर अर्थको ह«सलाई स्वीकार नगर्ने हो भने विश्वमा अनुवाद भन्ने कुरा नै असम्भव भएर जान्छ । यत्ति हो, यथासक्य इमान्दारीका साथ अनुवादकहरूले यस कार्यलाई अङ्गीकार गर्नुको विकल्प छैन ।

तर यी तमाम समस्या भए तापनि नेपालीबाट अन्य भाषामा, र अन्य भाषाबाट नेपालीमा यथेष्ट बालसाहित्यको अनुवाद भएको छ, र थुप्रै अनुवादहरू यसमा सक्रिय रहेका छन् ।

नेपाली भाषाबाट अन्य विश्वभाषामा नगण्य पुस्तक अनुदूति छन्, तर अङ्ग्रेजीमा भने यथेष्ट मात्रामा पुस्तकहरू प्रकाशित छन् । यसो हुनुमा तीन विशेष कारणहरू देखिन्छन् । पहिलो, यी पुस्तक, सुरुमा नेपाली बालबालिकालाई अनुवादको माध्यमबाट अङ्ग्रेजी भाषा सिकाउने प्रयोजनका साथ अनूदित भए । दोस्रो नेपालमा अङ्ग्रेजी नै शिक्षणको माध्यम भएका स्कुलका विद्यार्थीलाई लक्षित गरेर यस्ता पुस्तक आए । र तेस्रो, र तुलनात्मक रूपमा एउटा गौण कारण भने, नेपाली बालसाहित्यको अन्र्ताष्ट्रिय विस्तार पनि हो, तर यस दिशामा विभिन्न प्राविधिक कारणहरूले अपेक्षाकृत सफता भने प्राप्त भएको देखिँदैन । पुस्तकहरूको सफताका मापदण्डहरूमा अनूदित नेपाली बालपुस्तकहरू निकै नै पछाडि देखिन्छन् ।

नेपालभित्र नेपालीका अतिरिक्त १२२ अन्य भाषाहरू बोलिन्छन् । थुप्रै भाषामा बालसहित्य लेखिएको पनि छ । तर, तिनको अन्तर्राष्ट्रिय भाषाहरूमा अनुवादको स्थिति नगण्य छ । मूल नेपालीबाट भने थुप्रै कृतिहरू अङ्ग्रेजीमा अनुदित भएका छन् ।
अन्य भाषाबाट नेपाली भाषामा बालसाहित्यको अनुवाद धेरै पहिला सुरु भएको भए तापनि नेपालीबाट अङ्ग्रेजीलगायतका भाषामा अनुवाद गर्ने लहरले भनेको २०५० पछि नै गति लिएको देखिन्छ । यसको मूल कारण यस समयअघि, अङ्ग्रेजीमाध्यमबाट पढेर विकसित भएको पुस्ता सङ्ख्यागत रूपमा कम हुनाले यस्ता पुस्तकको आवश्यकता अथवा बजारको उपस्थिति लेखकहरूले महसुस नगरेका पनि हुन सक्छन् । तर, २०६० को दशकसम्म आउँदासम्म यस्ता अनूदित कृतिको सङ्ख्या तीव्र गतिमा बढेको देखिन्छ ।

नेपाली साहित्यको पहिलो चरणमा संस्कृत भाषाबाट अनुवाद गरिएका बालसाहित्यको बाहुल्य थियो । यसमा मूलतः पञ्चतन्त्रका कथा तथा रामायण र महाभारतजस्ता महाकाव्यका सरलीकृति कथाहरू सामेल छन् । यो पनि एक प्रकारको अनुवाद नै हो भन्ने मान्यताका साथ तिनको यहाँ उल्लेख गरिएको छ, किन कि तिनको मौलिक श्रोत नेपाली होइन । यस प्रकारका पुस्तकहरूमा चक्रपाणी चालिसेका सङ्क्षिप्त रामायण (१९७२) तथा सङ्क्षिप्त महाभारत (१९७४) महŒवपूर्ण छन् । यी दुवै पुस्तकलाई बालमैत्री भाषामा अनुकूलित गरिएको छ । रुद्रराज पाण्डेद्वाँ तयार गरिएको नीतिकथा समुच्य (१९९०) संस्कृतबाट तथा इसप नीतिकथा (१९९७) अङ्ग्रेजी श्रोतबाट अनुवाद गरिएका कृति हुन् । यसै गरी बदरीनाथ भट्टराईको पौराणिक कथा (२००९) र धर्मबोध (भाग १ र २), नुवादबोधिनी र अनुवाद प्रकाशिका, पौराणिक कहानी, वैदिक कहानीजस्ता पुस्तकहरू संस्कृत श्रोतबाट अनुदित र अनुकूलित गरेर २०१० को दशकमा छापिएका बालसाहित्यका कृति हुन् । दुगाप्रसाद दाहाल र ज्ञानप्रसाद शर्माको नैतिक शिक्षा (२०११), देवकुमारी सिंहको रामको कथा (२०१३), प्रकाश विनोदको बालरामायण (२०२१), सङ्क्षिप्त महाभारत (२०२१), रमेश विकालको पन्चतन्त्रका कथाहरू (२०२३), केदारमणि आदिको नीतिको कथा (२०२५) तथा हितका कथा (२०६२), सुभद्रा सुब्बाको बाल महाभारत (१९५६ सन्), हरिश बम्जनको पौराणिक कथाः वैज्ञानिक युग (१९६९ ई), कल्पना प्रधानको पञ्चन्त्रका पाँच कथा (२०३९), गोपीकृष्ण शर्माको पौराणिक कथा (२०४५), जनक शिक्षा सामग्री केन्द्रको कृष्ण चरित्र (२०४३) र बुद्ध जीवनी, (भाग १–५) (अनु. अनागरिका सुजाता, २०४९–५०), शारदारमण नेपालको महाभारतका कथाहरू १ र २ (२०५५ र ५६), बुद्धदास भिक्खको बालोपयोगी सचित्र बुद्धजीवनी (अनु. भिक्षु विपस्सी धम्मराओ, १९९६), सुभद्रा पन्तका पौराणिक कथाहरू भाग १ र २ (२०५७ र ५८), हिरण्यकुमारी पाठकको श्रीकृष्णलीला (२०५७), नवीन महाराजको बाल रामायण (२०५८), पन्ध्र कथा पन्चतन्त्रका (अनु. देवीप्रसाद वनवासी, २०६०) रुद्रराज पाण्डेको बाल रामायण (सन् १९६२), गोरखबहादुर सिंहको बाल रामायण (२०६१) आदि ग्रन्थहरू प्रमुख छन् । विष्णु शर्माको पञ्चतन्त्रका बालकथाहरू (अनु. कपिलमणि ज्ञवाली), संकलित कृति पञ्चन्त्रका पाँच कथा (अनु. कल्पना प्रधान, २०६३), केदार शाक्यको जातक कथा (२०६४), विष्णु शर्माको संस्कृत ग्रन्थको अनुवाद पञ्चतन्त्रका रमाइला कथाहरू (अनु. भुवनेश्वरी सत्याल), संस्कृतबाट अनुदित बालसूक्तिसङ्ग्रह (अनु. महेश्वर शर्मा), हितोपदेश (अनु. मित्रसुन्दर मल्ल), आदि पुस्तकहरू मूलतः संस्कृत श्रोतबाट नेपाली वाङ्मयमा अनूदित र अनुकूतिल पुस्तकहरू हुन् ।

यी अनुदित कृतिको प्रकृति हेर्दा लाग्छ, नेपाली बालसाहित्यको विकासको पहिलो चरणमा मौकिल रचनाको निकै ठूलो खडेरी थियो । त्यस बेला अनुवादकहरूले त्यस खडेरीको क्षतिपूर्ति गरे, जसका लागि नीतिका र धर्मशास्त्रका कथाहरूको रूपान्तरण गरियो ।

नेपालतिर यस्ता शास्त्रीय विषयको अनुवाद, सरलीकरण र अनुकूलनको अभ्यास भइरहँदा दार्जीलिङतिर भने विदेशी साहित्यको अनुवादमार्फत बालसाहित्यको आवश्यकताको पूर्ति गरिँदै थियो । नेपाली भाषामा पाठ्यसामग्रीको निर्माण तथा स्वतन्त्र बालसाहित्यको रचना त्यस अभ्यासको अभीष्ट थियो । यस क्रमामा पादरी गङ्गाप्रसाद प्रधानको सक्रियतामा एन्डर्सनका मीठो गीत गाउने चराको विषयमा (१९६७), हाँसको नराम्रो चल्लोका कथाहा (१९७१), एक बतौरे साथी (१९७३), मान्छे माछाको कथाहा (१९७७), र सुनौलो कथाको पुस्तक (१९७९) आदि प्रकाशित भए । यी कृतिका सन्दर्भमा शरद्चन्द्र शर्मा लेख्छन्, “शैक्षिक एवम् मनोरञ्जनपरक उद्देश्य लिएर लेखिएका यी कथाख्यानमा अनुवादकले आफ्नो समयका बालक, किशोर एवम् तन्नेरीलाई बौद्धिक खुराकको खजाना नै दिएका हुन् । अङ्ग्रेजी श्रोतको कथालाई नेपालीमा प्रवेश गराउनेमा पादरी गङ्गाप्रसाद प्रधानको औधी महत्त्व छ । (२०५०ः १८३) ।

अन्य अनूदित कृतिमा भारतीय उपमहादीपभित्रका केही जीवनी र लोककथाको रूपान्तरण भएको देखिन्छ भने, केहीचाहिँ पश्चिमा मुलुकमा लोकप्रिय रहेका लोक र दन्त्य कथा तथा उपन्यासलगायतका मौलिक कृतिको रूपान्तरण गरिएको देखिन्छ । भारतीय उपमहाद्वीपभित्रबाट अनूदित कृतिहरूमा कृष्णाकुमारीद्वारा अनूदित भारतीय वीर बालक (२०१३) र भारतीय वीरबाला (२०१३) घनेन्द्र शर्मा र रत्न बस्नेतको एक दर्जन आसामी लोककथाहरू (२०५८), रवीन्द्रनाथ ठाकुरको काबुलीवाला (अलकनन्दासेन गुप्ता, २०६१), श्रीग्रुन श्रीवास्तवको भारतका वीर बालकहरू (अनु. आरपी लामा, १९९५), एसियाली कथाहरू (अनु. केशरी अम्गाईं, २०६३), विभिन्न लेखकका एसियाली लोककथा (अनु. चैतन्यकृष्ण उपाध्याय, २०३४), नौ विदेशी लोककथाको सँगालो एसियाली लोककथा (अनु. नारायण शर्मा गजुरेल, २०३८), एसियाली लोककथा चौथो भाग (अनु. नेत्रप्रसाद अधिकारी, २०३८), डोरिस र हेरोल्ड फेबरको महात्मा गान्धी (अनु. भिक्टर प्रधान, २०६३), भूमिबल अतुल्यतेजको महाजनक राजाको कथा (अनु. भिक्षु विपस्सी धम्मराओ, २००३), एसियाली लोककथा २ (अनु. माधवलाल कर्माचार्य, २०६४) ओम गोस्वामीको कमालपुरको चमत्कार (अनु. सुवास दीपक, २००२), इरीन रे र मल्लिका कलेयर गुप्तको विवेकानन्दको कथा (अनु. हीरामाया प्रधान, १९८९) जवाहरलाल नेहरुको पिताको पत्र छोरीलाई (अनु. इन्द्र सुन्दास, २००७), मनोज दासको ज्ञानका रमाइला कथाहरू (अनु. एलबी क्षेत्री, १९९९), उमाशङ्कर जोशीको बापुका जीवन कथाहरू (अनु. कर्ण थामी), मौसमी भौमिकको सान्बाबुका चराहरू (अनु. कमल दीक्षित, २०५५), मेरो सानो घोडा (अनु. कल्पना प्रधान, २०३९), सोती परी काली परी (अनु. कल्पना प्रधान, २०४२), र मित्रता (अनु. कल्पना प्रधान, २०९८), बीजी गुज्जारप्पाको मिता अनि उसको जादूको छाता (अनु. मोहन ठकुरी १९९५), मुल्कराज आनन्दको मोरा (अनु. मोहन सुवेदी, २०००), शान्ता रामेश्वर रावको मोहिनी र राक्षस (अनु. युवराज काफ्ले, १९९८), मिकी पटेलको रुपा हात्ती (अनु. बाबुलाल प्रधान, १९९५), आदि कृतिहरू अनूदित छन् । पछिल्लो समय गिजुभइका कृतिहरूको नेपाली रुपान्तरण पनि भइरहेको छ । अन्य कृतिहरूको सूची पनि असाध्यै ठूलो छ, र त्यसलाई यस सानो लेखको घेरोभित्र अटाउनु असम्भवप्रायः छ ।

यस विवेचनाबाट के बुझिन्छ भने, एसियाली मुलुकहरूबाट पनि जीवनी, वीरताका कुरा अथवा लोकथाहरू नै बढी अनूदित भइरहेका छन्, तर मौलिक साहित्यक रचनाको आदानप्रदान खासै हुन सकिरहेको छैन ।

पश्चिमी साहित्यको नेपाली अनुवादमा भने विविधता देखिन्छ । लोककथा तर वीरताका कथाबाहेक मौकिल बालकथा र उपन्यासको पनि यथेष्ठ अनुवाद भएको देखिन्छ । यसको एउटा सम्भावित कारण के हुन सक्छ भने एसियाली मुलुकहरूको तुलनामा पश्चिमा मुलुकहरू बालकथा र उपन्यासजस्ता मौलिक विधामा धेरै अघि अग्रसर भए, र उनीहरूसँग यथेष्ट मात्रामा अनुवादयोग्य लोकप्रिय मौलिक बालसाहित्य थियो ।

नेपालमा बालसाहित्यको अनुवादको अवस्था हेर्दा मौलिक नेपाली बालसाहित्यको अङ्ग्रेजीलगायतका विश्वभाषामा अनुवाद गर्ने क्रमले पछिल्ला दशकहरूमा गति लिएको देखिन्छ । रुम टु रिड, कथालय, तियन–ली प्रकाशन, बालसाहित्य प्रतिष्ठान नेपाल, नेपाल बालसाहित्य समाज, नेपाल वालवाङ्मय प्रतिष्ठान, विवेक सिर्जनशील प्रकाशन, रत्न पुस्तक भण्डार, एजेकेशनल बुक हाउस, बुक आर्ट नेपाल, स्वदेश प्रकाशन, विद्यार्थी प्रकाशन आदि प्रकाशन संस्थाहरूको सक्रियताको यो क्रमले गति लिएको हो । तर अनूदित नेपाली बालसाहित्य विश्वबजारमा भने विस्तारित हुन सकिरहेको देखिँदैन । अन्य भाषाबाट नेपाली भाषामा अनुवाद गरिएका कृतिको सङ्ख्या पनि उल्लेख्य छ । यसमा प्राचीन संस्कृत श्रोतबाट शास्त्रीय र नीति कथाहरू अनुवाद गरिएका छन् । यसै गरी रुसी, चिनिया, जापानी, भारतीय, युरोपेली र केही अमेरिकी बालसाहित्यको अनुवाद नेपालमा उपलब्ध छ । पछिल्लो समय ठूलो सङ्ख्यामा चित्रकथाको अनुवाद तथा द्वैभाषिक चित्रकथाको प्रकाशन पनि तीव्र बन्दै गएको अनुभव गरिएको छ ।

नेपाली बालसाहित्यको थप अनुवाद र अन्तर्राष्ट्रिय विस्तारका लागि केही कदमहरू आवश्यक देखिन्छन् ।

आक्कलझुक्कलबाहेक बालसात्यिको अनुवादका लागि तालिमको व्यवस्था छैन । अनुवादमा हात हालेका अनुवादकहरू पनिअनुवाद सिद्धान्त र प्रयोगका तालिमप्राप्त व्यक्तिहरू होइनन् अपितु रहर वा बाध्यताले यो काम गरेरिहेका व्यक्तिहरू हुन् । सबै अनुवादकहरू बालवाङ्मयमा पारङ्गत पनि छैनन् र अनुवादका क्रमका आइपर्ने समस्याबारे सचेत पनि छैनन् । यी समस्याको समाधानतिर पनि ध्यान जानु जरुरी छ । अर्को कुरा, कुन साहित्य अनुवाद योग्य हो, बालसाहित्यको विश्वव्यापी मापदण्डअनुसारको छ वा छैन, तथा अनुवाद स्तरीय छ वा छैन भनेर निक्र्यौल गर्ने निकाय पनि नेपालमा देखिँदैन । यतातिर ध्यान जानु अत्यन्त जरुरी देखिन्छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार ११:३९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।