नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल निकट नेताको नेतृत्वमा निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ । नेकपा एमालेको नेपाल समूहका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार राईले वैशाख ७ गते दल दर्ताको निवेदन दिएका हुन् । दल दर्ताको प्रक्रियाका विषयमा अध्ययन भइरहेको आयोगले जनाएको छ ।आयोगले प्रक्रिया अध्ययनपछि सबै मिलेको पाइएमा दल दर्ताको प्रमाणपत्र उपलब्ध गराइने जनाएको छ ।
नेकपा (एकीकृत) दल दर्ताका लागि दिएको निवेदनमा उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेका छन् ।
माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका बेला नेपाल निकट युवा नेताहरुले दर्ता गराएको नेकपा एकीकृत नै माधव नेपालको पार्टी बन्न सक्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको बुझाइ रहेको छ ।
राईले भने यस विषयमा नेता नेपाललगायतका नेताहरुलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् । । अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएदेखि पार्टीमा कुनै जिम्मेवारी नपाएकाले आफूहरुले अलग पार्टी दर्ता गरेको उनले बताएका छन् । पार्टीको चुनाव चिह्न कलम दाबी गरिएको छ ।
यसअघि जेठ ६ गते भएको राष्ट्रिय सभाको निर्वाचनमा माधव नेपालले एमालेका आधिकारिक उम्मेद्वाराविरद्ध चुनावमा उठाएका डा. खिमलाल देवकोटाले पनि कलम चुनाव चिह्न नै प्राप्त गरेका थिए ।
फाइल तस्बिर ।
प्रतिक्रिया