राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको पाँच विद्यार्थी संगठनहरुले घोर निन्दा र भर्त्सना गरेका छन् ।
नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैठौंका अध्यक्ष विमल पोखरेलहरुले संयुक्त वक्तव्य जारी गर्दै संविधानमाथि प्रहार भएको र सरकार निरंकुश, अधिनायकवादी र स्वच्छाचारी बनेको ठहर गरेका छन् ।
केपी ओली सरकार देश र जनताप्रति लगातार घात गर्दै आफ्ना संवैधानिक तथा कानुनी जिम्मेवारीबाट पतन भएको उनीहरुको ठहर छ । उनीहरुले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, “कोरोना भाइरस नियन्त्रणमा ध्यान नदिएका कारण अस्पतालमा बेड, अक्सिजन, औषधिको हाहाकार मच्चिरहेको अवस्थामा मध्यावधि निर्वाचनको घोषणा देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठा हो भतने जनताको स्वास्थ्यमाथिको गम्भीर खेलबाड र अपराध हो ।”
सरकारले जनतामाथि गरेको स्वास्थ्य अपराध तथा संसद्को विघटनका विरुद्ध एकजुट हुँदै आ-आफ्नो ठाउँबाट प्रतिरोध गर्नका लागिसमेत उनीहरुले आह्वान गरेका छन् ।
प्रतिक्रिया