राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक दलहरुलाई क्षणिक स्वार्थ मात्र नहेर्न आग्रह गरेका छन् । राप्रपा अध्यक्ष थापाले आइतबार एक ट्विट गर्दै नेपालको संविधान धारा ७६ (५) बारे गम्भीर सवाल उठाएका हुन् ।
उनले प्रश्न गरेका छन्, “संविधानको धारा ७६ (५) ले सांसदहरुलाई निर्दलीय बन्न छुट दिएको हो ?, विद्वानहरुसमक्ष सानो जिज्ञासा छ – दलीय अनुशासनविपरीत जाने स्वातन्त्रता दिएको हो ?”
यदि यो मान्यता स्वीकार गर्ने हो भने दल फुटाउने र सांसद किनबेच गर्ने काम वैधानिक हुने अध्यक्ष थापाको तर्क छ । उनले ट्विटरमा भनेका छन्, “कुनै दल सुरक्षित रहन्न, क्षणिक स्वार्थ मात्र नहेरौँ ।”
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष कांग्रेस सभापति शेरबहादुर देउवा १४९ सांसदको हस्ताक्षरसहित र आफैँसँग १५३ सांसदको समर्थन रहेकाे भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी पेस गरेकामा राष्ट्रपतिले दुवै दाबी खारेज गरिदिएकी थिइन् ।
सरकारले संसद विघटन सिफारिस र नयाँ निर्वाचनको मिति राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो । त्यो सिफारिस सदर भएपछि कानुनविद र राजनीतिक दलका नेताले राष्ट्रपति र प्रधानमन्त्रीले गलत गरेको बताइरहेका बेला नेता थापाले धारा ७६ (५) को व्यवस्थामाथि प्रश्न उठाएका हुन् ।
फाइल तस्बिर ।
प्रतिक्रिया