Logo

राजनीति

‘बन्दुक बोकेकाहरुले कहिले आचरण परिवर्तन गर्लान् ?’



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको शान्ति प्रकृया बिश्व समुदायका लागि अनुकरणीय भएको भन्दै शान्ति प्रकृयाका पूरा हुन बाँकी काम इमान्दारीपूर्बक कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्धारा शुक्रबार आयोजित गान्धी, अहिंसा र नेपालको शान्ति प्रकृया बिषयक जुम बैठकमा सभापति देउवाले शान्ति प्रकृयालाई टुंगोमा पुर्याउने प्रमुख जिम्मेवारी सरकारको भएको उल्लेख गरे।

सत्तासीन दलका नेता कार्यकर्ताले बिरोधी शक्तिलाई धम्क्याउने गरेको भन्दै उनले त्यस्ता अप्रजातान्त्रिक काम तत्काल बन्द गर्नुपर्नेमा जोड दिए। देउवाले बन्दुक बोकेकाहरुले आचरण बदल्नुपर्ने बताए।

कार्यक्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले गान्धीको प्रभाबबाट नेपालमा लोकतान्त्रिक शासन व्यबस्था संभब भएको भन्दै संविधान सभाबाट जारी संविधान कार्यान्वयन गर्नु आजको प्रमुख दायित्व भएको बताए। उनले अख्तियार र अदालत सत्ताको निर्देशनमा चलेको भन्दै दलीय र व्यक्तिगत सुविधाका लागि संस्थालाई प्रयोग गर्नु राजनीतिक बेइमानी भएको उल्लेख गरे।

पूर्ब सभामुख सुवास नेम्बांगले शान्ति प्रकृयाको बाँकी काम पूरा गर्न दलहरु एकै ठाउँमा उभिनुपर्ने बताए। संसदको हिउँदे अधिबेशनमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानवीन आयोगसम्बन्धी बिधेयक दर्ता गरी छलफलबाट टुंगोमा पुर्याएर शान्ति प्रकृयाको ऐतिहासिक काम पूरा गर्नुपर्ने उल्लेख गरे।

प्रतिष्ठानका मानार्थ अध्यक्षसमेत रहेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राजनीतिक र सामाजिक रुपान्तरणमा गान्धीको योगदान बिश्व समुदायका लागि अनुकरणीय भएको स्मरण गरे। कांग्रेस केन्द्रीय सदस्यद्धय डा. मिनेन्द्र रिजाल र रमेश लेखक, शान्ति प्रकृया बिशेष समिति सचिवलायका संयोजक बालानन्द शर्माले गान्धीको प्रेरणाबाटै नेपालको शान्ति प्रकृया अघि बढेको बिचार व्यक्त गरेका थिए।

प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालका लागि भारतीय राजदूत बिनयमोहन क्वत्र, नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिसा भान क्याप्लर, राजनीतिक बिश्लेषक चन्द्रकिशोर र प्रतिष्ठानका संस्थापक अध्यक्ष भानुभक्त ढकालले गान्धीको आदर्शलाई मूलमन्त्र ठानेर अघि बढेमा नेपालको शान्ति प्रकृया तार्किक निष्कर्षमा पुग्ने बिश्वास व्यक्त गरे।

प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार  १ : ३७ बजे