धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले पार्टी केन्द्रको निर्णय अस्वीकार गर्ने भएको छ । एमालेले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।
एमालेको सोमबार बसेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । प्रदेशमा बुधबार बसेको संसदीय दलको बैठकले केन्द्रको विपक्षमा निर्णय गरेको हो ।
अहिलेको अवस्थामा सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय गरेका हुन् ।
संसदीय दलका नेता समेत रहेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको अध्यक्षतामा बसेको बैठकले नफर्किने निर्णय गरेको हो ।
बैठकको संक्षिप्त निर्णय सुनाउँदै नेकपा एमालेकी सांसद पूर्णा जोशीले वर्तमान अवस्थामा पार्टीको केन्द्रीय स्थायी कमिटीको निर्णय परिपक्व नभएको र हालसम्म आधिकारिक रुपमा नआएको बताइन् ।
साथै हालसम्म प्रदेश सरकार महामारी विरुद्धको लडाइमा रहेको साथै आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीमा रहेकोले सरकारबाट नबाहिने निर्णय भएको बताइन् । यो निर्णयसँगै मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकार जोगिएको छ ।
प्रतिक्रिया