Logo

राजनीति

नेकपा सचिवालय बैठक अचानक स्थगित



 सत्तारुढ नेकपाको शनिबारका लागि तय भएको सचिवालयको बैठक स्थगित भएको छ ।

मन्त्रिपरिषद पुनर्गठन, राजनीतिक तथा संवैधानिक नियुक्ति लगायत विषयमा छलफल गर्न नेकपाले सचिवालय बैठक बोलाएको थियो । बैठक आइतबारसम्मका लागि स्थगित भएको प्रधानमन्त्री केपी ओलीको निजाी सचिवालयले जनाएको छ ।

नेकपामा केही समय मत्थरजस्तो देखिएको आन्तरिक विवाद युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाको राजदूत नियुक्त गरेसँगै बल्झिएको छ । स्थायी समितिले राजनीतिक नियुक्ति गर्दा पार्टीको संस्थागत निर्णयबाट गर्ने निर्णय गरे पनि प्रधानमन्त्री ओलीले एकलौटी खतिवडालाई एक साताअघि आफ्नो विशेष आर्थिक सल्लाहकार र फेरि राजदूत नियुक्त गरेको भन्दै शीर्ष नेताहरुले नै आपत्ति जनाएका छन् ।

यस्तै स्थायी समितिले मन्त्रिपरिषद पुनर्गठनको सैद्धान्तिक निर्णय गरे पनि दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मोडालिटीमा कुरा नमिलेका कारण पुनर्गठनको काम पनि रोकिएको छ ।

नेकपा सचिवालय बैठक बस्दै

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आजका लागि बोलाइएको छ । अपरान्ह ४ बजे बालुवाटारमा बोलाइएको बैठकमा आज मन्त्रिपरिषद पुनर्गठनबारे छलफल हुने बताइएको छ ।

यस्तै प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा छलफल नै नगरी मुख्यसचिव सहित तीन देशमा राजदूत नियुक्ति गरेको विषयमा समेत छलफल हुने छ । प्रधानमन्त्रीले एकलौटी निर्णय गरेको भन्दै नेकपाका शीर्ष नेताहरु असन्तुष्ट छन् ।

यसअघि स्थायी कमिटी निर्णय र सचिवालयको छलफल अनुसार राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड बनाउने विषयमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल चलिरहेकै बेला प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति सम्बन्धी महत्वपूर्ण निर्णय एकलौटी गरिएको भन्दै नेताहरु असन्तुष्ट भएका हुन् ।

सरकारले अस्ति बिहिबार शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको थियो । यस्तै पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिका, निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र कपिलवस्तुका डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको लागि राजदूतमा सिफारिस गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  १ : ४० बजे