Logo

राजनीति

भारतीय समकक्षीलाई पत्र पठाएकी राष्ट्रपति भण्डारीद्वारा चिनियाँ समकक्षीसँग ४५ मिनेट टेलिफोन संवाद



राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको चार दिनपछि दुई छिमेकी मुलुकका राष्ट्र प्रमुखहरुसँगको संवाद गरेकी छन् । बुधबार बिहान भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र पठाउँदै राष्ट्रपति भण्डारीले खोप उपलब्ध गराइ दिन आग्रह गरेकी थिइन् । 

त्यसैगरि बुधबार दिउँसो चिनियाँ समकक्षीसँग करिब ४५ मिनेट टेलिफोन संवाद गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिङपिङबीच करिब ४५ मिनेट टेलिफोन संवाद भएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिएका छन् । उनका अनुसार कोभिड महामारीको एक वर्षको बीचमा नेपाल र चीनका राष्ट्रपतिबीच यो दोस्रो टेलिफोन संवाद हो ।

ढकालले दुई राष्ट्र प्रमुखबीच भएको उक्त संवादमा राष्ट्रपति भण्डारीले कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन चिनियाँ राष्ट्रपतिलाई विशेष आग्रह गरेको जानकारी दिएका छन् । जवाफमा चिनियाँ राष्ट्रपतिले नेपाल चीनको अभिन्न मित्र रहेको भन्दै नेपाललाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताएका छन् ।

दुई मुलुकबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै राष्ट्रपति भण्डारीले नेपाललाई खोप उपलब्ध गराउने चिनियाँ तदारुकताको अपेक्षा समेत व्यक्त गरेको बताइएको छ ।

खोप उपलब्ध गराइदिन आग्रह गर्दै भारतीय समकक्षीलाई राष्ट्रपति भण्डारीको पत्र 

 

प्रकाशित मिति : जेष्ठ १२, २०७८ बुधबार  ५ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।