Logo

राजनीति

कानुनविद्सँगको परामर्शपछि सभाभुखले भने –  संसद्को अवमूल्यांकन अस्वीकार्य, असाधारण निर्णय गर्नसक्छु



प्रतिनिधि सभाका सभामुख अग्‍निप्रसाद सापकोटाले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै असाधारण निर्णय लिनसक्ने बताएका छन् । सभामुख सापकोटाले बिहीबार प्रतिनिधिसभा विघटन भएको सन्दर्भमा कानुनविदहरुसँग परामर्शपछि संविधान, देश र जनताको रक्षार्थ असाधारण निर्णय लिनसक्ने बताएका हुन् । 

उनले संसदको अवमूल्यांकन स्वीकार्य नहुने भन्दै संविधानको मर्म र जनताको अधिकार रक्षाका लागि असाधारण निर्णय लिनसक्के बताएका हुन् । उनले भने, “आवश्यक पर्दा देश जनता, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि नेपाली जनताले प्रदान गरेको अधिकारलाई प्रयोग गर्नुपर्छ । त्यो भनेको धेरै असाधारण र त्यो गर्नलाई घण्टा-घण्टाका सबै कुरालाई विचार गरेर, मनन गरेर अगाडि बढ्नुपर्छ ।”

उनले घण्टा-घण्टाका सबै परिस्थितिलाई मूल्याङ्कन गरेर अघि बढ्ने प्रयासमा रहेको भन्दै केन्द्रमा देश र जनताको हित राखेर संविधानको मर्म र भावनाअनुसार कदम चाल्ने बताए । त्यसक्रममा उनले पार्टीहरूसँग पनि परामर्श गर्ने बताएका हुन् । 

उनले भने, “म राजनीतिक दलहरुसँग पनि छलफल गर्छु । उनीहरू लोकतन्त्रका संवाहक हुन् । कानुनविद्हरुले पनि सभामुख सापकोटालाई संसद् आह्वान गर्नसक्ने अधिकार भएको सुझाएका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीले शुक्रबार मध्यराति संसद् विघटन गरेपछि यसको चर्को विरोध र आलोचना भइरहेको छ । सरकारले कोरोना महामारी नियन्त्रणमा ध्यान दिनुको साटो राजनीतिक संकट निम्त्याउने काम गरेको भन्दै सरकारको आलोचना भइरहेको छ । 

राष्ट्रपति र प्रधानमन्त्रीले संसद् विघटन गरेको भन्दै सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले सहित ३० वटा मुद्दा दर्ता भएका छन् । उक्त मुद्दाको सुनुवाई शुक्रबार संवैधानिक इजलासमा हुने भएको छ ।

 

 

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ५ : ०७ बजे