Logo

राजनीति

संसद विघटनविरुद्धका सबै रिट संवैधानिक इजलासमा, आजदेखि सुनुवाइ



प्रतिनिधिसभा विघटन प्रकरणमा सर्वाेच्च अदालतमा दायर ३० वटै रिट संवैधानिक इजलासमा पेश भएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा विघटन निर्णय खारेज गरी पुन:स्थापनाकाे परमादेश माग गर्दै दायर भएका २६ वटा र प्रधानमन्त्री केपी ओलीलाई नै निरन्तरता दिनुपर्ने माग गर्दै दायर भएका ४ वटा गरी ३० वटा रिटको सुनुवाइ शुक्रबारदेखि संवैधानिक इजलासमा हुने भएको हो। 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले विघटनविरुद्ध १९ वटा रिटमा बिहीबार सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो।

सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यराति संसद विघटन गर्दै मध्यावधि चुनावकाे घाेषणा गरेकी थिइन्। चुनाव घाेषणातत्काल कार्यान्वयन नगर्न कानुन व्यवसायीले अन्तरिम आदेशको पनि माग गरेका थिए। तर प्रधानन्यायाधीशको एकल इजलासले गम्भीर संवैधानिक व्याख्याको विषय भएको भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो। 

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ७ : ५० बजे