Logo

राजनीति

जनता सडकमा उत्रिन थालेपछि चारवटै सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीकाे प्रश्न : सुरक्षा चुनौती के छ ?



प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर अहिलेको सुरक्षा चुनौतीको विषयमा छलफल गरेका छन्। बिहीबार चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा प्रधानमन्त्री ओलीले अहिलेको सुरक्षा चुनौतीको के छ ? भन्दै प्रश्न गरेका थिए। 

छलफलमा सहभागी एकजना सदस्यका अनुसार प्रधानमन्त्रीले अहिले कोरोना महामारी र राजनीति अलि अस्थिरजस्तो देखिएकोले कुनै सुरक्षा चुनौतीका विषयबारे आफ्नो धारणा राख्न चारै सुरक्षा निकायका प्रमुखलाई प्रश्न गरेका हुन्। 

गृह र रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीले मुख्यसचिव शंकरदास बैरागी, गृहसचिव महेश्वर न्यौपाने र रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेसहित प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारीलाई बालुवाटारमै बोलाएर छलफल गरेका हुन्। 

बैठकमा समसामयिक सुरक्षा, महामारी नियन्त्रणका लागि लिइएका प्रतिकार्य योजना कार्यान्वयन र निर्वाचन सुरक्षाका विषयमा छलफल भएको बताइएको छ। स्वास्थ्य आपत्काल वा राजनीतिक गतिरोध बढ्दै जाँदा संकटकालसमेत घोषणा हुने अड्कलबाजीका बीच सुरक्षा प्रमुखसँग प्रधानमन्त्री ओलीले छलफल गरेका हुन्। छलफलका विषयमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र रक्षा मन्त्रालयलगायत कुनै निकायले औपचारिक धारणा बाहिर ल्याएका छैनन्।

सुरक्षा प्रमुखहरुले अहिले कोरोनाको चेन ब्रेक र नागरिकलाई खोप लगाउनुपर्ने मुख्य चुनौती भएको औंल्याएका थिए ।साथै सरकारले काेराेना नियन्त्रणमा प्रभावकारी कदम नचाल्दा जनता रुष्ट भएकाे र सडकमा आन्दाेलनसमेत हुन थालेकाे विषयमा छलफल भएकाे थियाे। कोरोना महामारीको दोस्रो लहर चलिरहेका बेला सरकार निर्वाचनको तयारीमा जुटेको हो। अहिले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि ७१ जिल्लामा जिल्लाव्यापी र ४ जिल्लामा जोखिमयुक्त क्षेत्रमा निषेधाज्ञा लगाइएको छ। हाल खोटाङ र मनाङमा मात्रै निषेधाज्ञा छैन।

बालुवाटारको छलफलमा प्रधानमन्त्री ओलीले संक्रमणको चेनब्रेक गर्न निषेधाज्ञालाई कडाइका साथ लागू गर्न पनि निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ९ : ५२ बजे